प्रस, वीरगंज, २ माघ/
वीरगंज महानगरपालिकाले घण्टाघरदेखि पावरहाउससम्मको चार लेन सडकको पश्चिमतर्फको भाग मरम्मत शुरू गरेको छ।
करीब दुई किलोमिटर लामो सो सडकखण्ड गत वर्ष टालटुल गरिएको थियो। टालटुलपछि पनि यसै वर्ष काम नलाग्ने गरी जीर्ण भएपछि सो सडकलाई लिएर नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। सडक खाल्डाखुल्डी परेर सवारीसाधन सञ्चालनमा निकै समस्या आएको गुनासोपछि महानगरपालिकाले कालोपत्र कार्य शुरू गरेको जनाएको छ।
१.८ किलोमिटर लम्बाइको सडक मरम्मत र कालोपत्रको ठेक्का सिद्धबाबा, समा जेभी कन्स्ट्रक्शनले लिएको छ। रु २ करोड ३ लाखमा यो सडकको मरम्मत आजदेखि शुरू भएको हो। ४५ दिनको समयावधिभित्र सडक कालोपत्र गर्ने जिम्मेवारी ठेकेदार कम्पनीले लिएको छ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले चार लेन सडक अन्तर्गत पश्चिमतर्फको महानगरको जिम्मामा रहेको सडक पूरै खनेर कालोपत्र गरिने बताए। यो सडकखण्डको काम सडक विभागले तोकेको मापदण्ड अनुसार हुने उनले बताए।