मुकुन्द आचार्य

देश ठूलो कि कुर्सी भनेर कसैले सोधे भने हामी ‘कुर्सी’ भन्छौं। देशभन्दा कुर्सी किन ठूलो भनी पुनः प्रश्न गर्दा जवाफ आउँछ– कुर्सी भनेको माहुते हो, जसले विशाल हात्ती (देश)लाई हाँक्दछ।
आज प्रश्न यस्तो किन ? किनभने हाम्रो नेपालमा अहिले कुर्सी महापुराणको अखण्ड पाठ, कुर्सी कीर्तन, कुर्सी जप, कुर्सी चिन्तन–मनन आदि राष्ट्रियस्तरमा अहोरात्र चलिरहेको छ।
कुर्सीका बारेमा चौबीसै घण्टा बोल्न सक्ने पण्डितहरू केपीशर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, वकीलहरू, भूतपूर्व न्यायाधीशहरू, सबै पार्टीका नेताहरू, झोलेहरू आदि इत्यादि तथाकथित नेताहरू र तिनका आफन्तजन कहलिने सबै भाग्यमानी पर्दछन्।
सबैको अर्जुनदृष्टि एकमात्र प्रधानमन्त्रीको कुर्सीमा टिकेको हुन्छ। अहिले प्रमको कुर्सीमा विराजमान ओलीलाई सो कुर्सीबाट तल झारी जसरी हुन्छ आफू वा आफ्नो मान्छेलाई बसाउन पाए देशलाई लुटेर खान सकिन्छ भन्ने दाउ सबैको छ।
यस्ताखाले लुटेराहरूलाई राजनीतिशास्त्रको भाषामा नेता, देशभक्त, जनसेवक, राष्ट्रनायक, जननेता आदि इत्यादि भव्य शब्दले सम्बोधन गरिन्छ। सोही अनुसार मानसम्मान, इज्जत–प्रतिष्ठा पनि पाउँछन्, यी देशमा राज गर्ने भाग्यमानीहरूले।
हामी सामान्यतया कुर्सीलाई निर्जीव भन्छौं। तर यो हाम्रो ठूलो भूल हो। ठूलठूला सजीवहरूले निर्जीव कुर्सीको पूजापाठ, भजन कीर्तन, श्रद्धा, भक्ति, प्रेम गरेको देख्दा कुर्सीलाई निर्जीव भन्न मिल्छ के ?
महर्षि वेदव्यासको पालामा कुर्सी त थिएन तर कुर्सीको हजुरबुबा त थियो नि। हजुरबुबालाई चै राजसिंहासन भन्थे। त्यै राजसिंहासन अहिले कुर्सीको रूप धारण गरेर प्रकट भएको छ। हुन पनि सक्छ। यो मोरो अचम्म उल्काको संसारमा हुन नसक्ने के नै छ र ?
कुर्सी प्राप्त गर्ने महान् अभियानमा लागिपरेका हाम्रा महान् नेताहरूलाई देश र देशवासीहरूका बारेमा सोच्ने फुर्सत नै कहाँ हुन्छ र १ फुर्सतै नभएपछि कसको के लाग्छ त ?
त्यसो त कुर्सीका लागि हानाथाप, तँछाड–मछाड, झैंझगडा, लडाइँ, युद्ध, सत्य, त्रेता र द्वापर युगमा पनि भएकै हो नि। राज्यकै लागि महाभारतको युद्ध भॉथियो। देवता र दानवहरूका बीचमा धेरैपटक युद्ध भएकै हो। स्वर्गको राज्य छोडेर देउताहरू कैयौंपटक भागेर, लुकेर बस्नुपरेको थियो। कुर्सीकै करामात त हो नि ?
मान्छेको भोकपन अनेक थरीका हुन्छन्। मान्छेलाई पावर (शक्ति) पनि चाहिन्छ। कुर्सीमा बसेपछि पावर बढ्छ। पावर, पैसा, पद यसैमा आजको मान्छे अलमलिएको छ। धेरै अलमल भएपछि काम चैं हुँदैन।
कुर्सीको महिमा जति गाए पनि नसकिने हुनाले अब यो गन्थन यतिमैं तुरौं कि ? जेहोस्, कुर्सीको लडाइँ कहिल्यै टुङ्गिएला जस्तो छैन। भगवान्ले सबैलाई सद्बुद्धि दिऊन्।
यौटाले भन्थ्यो, कुर्सी सुकेको हाड हो र हाम्रा कुर्सीप्रेमीहरू त्यो हाड चुसेर रमाउने चारखुट्टे पुच्छरवाला जन्तु हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here