प्रस, वीरगंज, १ माघ/
पर्सा र बारामा रहेका सम्पूर्ण पेट्रोल पम्पले जनवरी १६ तारेखदेखि पेट्रोलियम पदार्थ खरीद–बिक्रीमा रोक लगाउने बताएका छन्।
पर्सा र बाराका पेट्रोलियम डिलर एशोसिएशन तथा डिलरहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
बिहीवार बसेको संयुक्त बैठकले विनोद चौरसियाको सभापतित्वमा ११ सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेको छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजले पर्सा र बाराका विक्रेताहरूलाई अमलेखगंज डिपोमा इन्धन लिन पठाउन थालेपछि यस भेगका विक्रेताहरू आक्रोशित बन्दै आन्दोलनमा उत्रेका हुन्।
वीरगंज कार्यालयले यसअघि कागजी प्रक्रिया पूरा गरी रक्सौल डिपोबाट विक्रेताले डिजल उठाउँथे भने अहिले नेपाल आयल निगमको केन्द्रीय कार्यालयको निर्णय अनुसार आगामी जनवरी १६ देखि अमलेखगंज डिपोबाट बिलिङ, भौचर, डिमान्डको प्रक्रिया तथा ट्याङ्करमा तेल पनि त्यहींबाट लोडिङ गर्नुपर्ने निर्देशन आएकोले पेट्रोलियम  व्यवसायीहरूले आन्दोलन थाल्दै इन्धनको खरीद–बिक्री ठप्प गर्ने निर्णयमा पुगेका हुन्। पेट्रोलियम डिलर एशोसिएशन पर्साका अध्यक्ष विनोद चौरसियाका अनुसार पहिले क्षेत्रीय कार्यालय वीरगंजबाट हुँदै आएको कागजी प्रक्रिया सरह नै सुविधा उपलब्ध गराउनुपर्ने नेपाल आयल निगमसँग व्यवसायीहरूले माग गरेका छन्।
व्यवसायीहरूको भेलाले पाँच सदस्यीय वार्ता समिति पनि बनाएर यथाशीघ्र समस्या समाधान गर्न माग गरेको छ। त्यसैगरी, वीरगंजका बैंकहरूबाट भौचर दाखिलाको सेवा पनि पूर्ववत् कायम राख्न माग गरिएको छ। बाराका विक्रेताहरूको लागि कलैयाको सिद्धार्थ बैंकमा नेपाल आयल निगमको खाता सञ्चालन गर्नुपर्ने जस्ता पाँच सूत्रीय मागसमेत राखिएको छ। यदि अमलेखगंजबाट इन्धन र कागजी प्रक्रिया पूरा गर्दा पर्सा र बाराका विक्रेताहरूबाट बिक्री हुने डिजल र पेट्रोल प्रतिलिटर ७५ पैसा महँगो हँुदै वीरगंजबाट ग्रामीण भेगमा प्रतिकिलोमिटरमा १० पैसा मूल्य बढ्दै जाने व्यवसायीहरूको भनाइ छ।
त्यसैगरी, वीरगंजबाट ३० किलोमिटर उत्तर अमलेखगंजमा रहेको डिपोबाट इन्धन ल्याउँदा पथलैया, सिमराका पेट्रोल पम्पमा दूरीको हिसाबले इन्धनको मूल्य लिटरमा ७५ पैसा कम पर्दा पर्सा र बाराका सवारीसाधनहरू अमलेखगंज, पथलैया क्षेत्रमैं तेल भर्ने हुँदा यस भेगको पेट्रोलियम कारोबार सुक्ने अनुमान छ। व्यवसायीहरूले दूरीको हिसाबले लागत खर्चको आधारमा इन्धनको दाम नतोकेर नेपालभरि एक दाममा इन्धन बिक्री वितरण गर्नुपर्ने माग राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here