जीतलाल श्रेष्ठ, निजगढ, २८ पुस/
निजगढ नगरपालिकाका स्थानीय सरोकारवाला जग्गाधनीहरूलाई कुनै जानकारी नदिई विद्युतीय रेलमार्गको सर्वे कार्य गर्दै निजी जमीनमा पिलर गाडेपछि स्थानीयहरूले सोही टोलीलाई हिजो पिलर उखेल्न लगाए।
राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको डिपिआर तयारीका लागि स्थलगतरूपमा सर्वे गर्न निजगढ आएको टोलीलाई निजगढ बजार टोलका स्थानीयले बस्तीबीचबाट सर्वे नगर्न भन्दै तत्कालका लागि सो कार्य रोकेका छन्।
सर्वे टोलीका इन्चार्ज सबइन्जिनीयर सुरज पौडेलका अनुसार गाडिएका पिलरदेखि २५० मिटर पश्चिम दिशातर्फ र ५० मिटर पूर्व दिशातर्फ समाउँदै रेलमार्ग जाने बताएपछि स्थानीय आक्रोशित भएका हुन्।
निजगढ बजारस्थित दक्षिणतर्फ निजगढ नगरप्रमुख सुरेशकुमार खनालको जमीन र कृष्णमुरारी खड्काको जमीनको साँध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साँधमा सिमेन्टेड पिलर गाडेको पाइएपछि सर्वे टोलीको खोजी कार्य बिहानैदेखि स्थानीयले गरेका थिए।
स्थानीयले समस्या खडा गर्ने र आफू समस्यामा पर्ने अडकल काटेपछि सो सर्वे टोलीका इन्चार्ज पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर निजगढ नगरपालिकामा गएको थाहा पाएपछि उनलाई स्थानीयले त्यहीं घेरेर –याख–याख्ती पारेका थिए।
आफूसँग पत्र भएको देखाउँदै पिलर गाड्दा जग्गाधनीहरूलाई सोधेर सो पिलर सुरक्षित गरिदिन आग्रह गरेको झूटो जवाफ दिएपछि आक्रोशित केही स्थानीय उनीमाथि झम्टेका पनि थिए। सो जमीनमा पिलर गाडेको आफूहरूलाई कहीं कसैबाट कुनै जानकारी नदिएको जग्गाधनी र सो रेलमार्ग सर्वेबाट प्रभावित हुने सरोकारवाला स्थानीयहरूले बताएका छन्।
हामीलाई कुनै जानकारी छैन। चोर जसरी सर्वेमा प्रयोग हुने मेशिन बारीमा राखी नाप लिएपछि सोधपूछ गर्दासम्म पनि प्रस्ट नभनीकनै आलटाल गरे जस्तै गरी काम गरेको थाहा पाएपछि स्थानीयहरू सशङ्कित भएको स्थानीय विष्णु खड्काले बताए। बुझ्दै जाँदा त आफ्नै, छिमेकीहरूको निजी जमीन, पक्की घर भएर रेलमार्गको सर्वे कार्य भइरहेको थाहा पाएको उनीहरूले बताए। सो कुरा छिमेकीहरूले थाहा पाएपछि झनै आक्रोशित भएका थिए। घनाबस्ती ताक्दै विकास हुनुहुँदैन। कम क्षति गरी विकास गर्नुपर्छ। सरोकारवाला स्थानीयहरूको भनाइ छ।
माथिल्लो तहले स्थानीय तह नगरपालिकासँग समन्वय गरेको भन्दै आफूहरूलाई डिपिआर निर्माणका लागि फिल्डमा खटाएकोले आफूहरू आई शनिवारदेखि धमाधम काम शुरू गरेको सर्वे टोलीका इन्चार्ज पौडेलले बताए।
निजगढ नगरपालिकाभित्र रेलमार्गको सर्वे गर्न आएको निजगढ नगरपालिकालाई समेत कुनै जानकारी नभएको नगरप्रमुख खनालले बताए। सो सम्बन्धमा सरोकारवाला स्थानीयहरूले जानकारी दिएपछि सर्वे टोलीलाई काम बन्द गर्न नगरप्रमुख खनालले निर्देशन दिएका छन्।
निजगढकै तीन सय वर्षभन्दा पुरानो निजगढ नपा–४ कछडिया बस्तीबीचबाट विनाजानकारी रेलमार्गको सर्वे भइरहेको थाहा पाएपछि आफू पनि अचम्मित भएको वडाध्यक्ष जयराम कुमरले बताए। बस्ती, खेतीयोग्य जमीनलाई क्षति नहुने गरी रेलमार्ग लगिने स्थान भएपनि यसबारे स्थानीय तहमा छलफल नभएकोले कार्यपालिकामा जोडदार कुरा उठाउने उनले बताए।
सर्वे टोलीको अनुसार रेलमार्ग निजगढको भमरा नदीकठ्ठा, तेस्रोलाइन, जमुना पैनी, निजगढ बजार, राजमार्ग, गुम्माटोल, सडकटोल, जमुना पैनी पुरानो निजगढको बस्ती हुँदै बकैया खोला पार गर्दै लालबस्तीतर्फ जानेछ। सो रेलमार्ग चिसापानी, घैयाखोरिया, बुङ्जोर, बारथली, रामथली, कुलिया, भक्तलाल, डमरपुर हुँदै अमलेखगंज निस्कने र हेटौंडाबाट पश्चिमी रूट समाउने जनाइएको छ। सर्वे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीहरूलाई कुनै जानकारी नै नदिई जग्गाहरूका साँध, सिमानामा सिमेन्टेड पिलर गाडेपछि छिमेकीहरूबीच विवाद बढेको छ। विकासका नाममा बस्ती ताक्दै उजाड बनाउने सरकारको नियत तत्कालै नसच्चिए सङ्घर्षमा उत्रने सरोकारवाला स्थानीयहरूले बताएका छन्।
स्थानीयद्वारा नगरप्रमुखलाई ज्ञापन
जीतलाल श्रेष्ठ, निजगढ/
निजगढ नगरपालिका–९ का स्थानीय सरोकारवाला जग्गाधनीहरूले नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेलाई संयुक्तरूपमा मङ्गलवार ज्ञापनपत्र बुझाएका छन्।
जग्गाधनी र नगरपालिकालाई समेत जानकारी नदिई विद्युतीय रेलमार्गका लागि डिपिआर निर्माण गर्न डिटेल सर्वे गरिरहेको सुइँको पाएपछि सोको विरोधमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।
निजगढवासी विकासविरोधी नभई विकासप्रेमी भएकोले घनाबस्ती, खेतीयोग्य जमीनलाई सुरक्षित गर्दै रेलमार्ग निर्माण गर्न अन्य विकल्प भएको ज्ञापनपत्रमा उल्लेख छ।
विकासका नाममा जबरजस्ती गर्न खोजे चरणबद्ध सङ्घर्षका कार्यक्रम हुने ज्ञापनपत्रमा उल्लेख छ।