प्रस, परवानीपुर, २५ पुस/
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आत्मालोचना गरी प्रतिगमन सच्याएर आए ओलीलाई गरिएको कारबाई फिर्ता लिइने बताएका छन्।
माधव–प्रचण्ड समूहको नेकपा वीरगंज महानगर कमिटीद्वारा नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति भनेको प्रधानमन्त्री ओली नै भएको आरोप लगाए।
नेता पौडेलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय नमान्ने र तानाशाहीरूपमा अगाडि बढ्ने अधिकार ओलीलाई कसले दियो भन्ने प्रतिप्रश्न गर्दै शुक्रवार धनगढीमा आयोजित आमसभामा ओलीले जनतालाई दिगभ्रमित गर्न खोजेको आरोप लगाए। उनले प्रचण्ड र नेपाललाई भगौडा नेता भन्ने ओली आफैं भगौडा भएको दाबी गरे। उनले कुनै हालतमा निर्वाचन हुन नसक्ने र ओली सरकार सत्ता लम्ब्याउने खेलमा रहेको बताए। नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह तेली, दिनेश राई, विघटित सांसद पुष्पा कर्ण, पूर्व सभासद् विचारी यादव, जगरनाथपुर गापा प्रमुख जालिम मियाँ, नेकपा प्रदेश २ सदस्य बालगोपाल थापालगायत वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए।