प्रस, वीरगंज, २५ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्लामा कोरोना महामारी नियन्त्रण अभियानमा पर्सा प्रहरीलाई सहयोग गर्ने संस्था तथा व्यक्तिलाई प्रशंसापत्रसहित सम्मानित गरेको छ। प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा काठमाडौं सिआइबी इन्टेलिजेन्ट्स ब्युरोमा सरुवा भई जान लागेकी प्रहरी उपरीक्षक गङ्गा पन्तले व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरेकी हुन्।
पीडित सहायता कक्ष स्थापना गर्न चन्दा सहयोग गरेका पर्साका केही पालिकाका प्रमुखलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो। सम्मानित हुनेहरूमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पटेर्वासुगौलीका अध्यक्ष हरिनारायण चौधरी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, सञ्चारकर्मी राधेश्याम पटेल, नीरज पिठाकोटे, सुरेश विडारी, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, वीरगंज हेल्थकेयरका सञ्चालक डा. अबुलैस अन्सारी, उद्योगी सत्यनारायण क्याल, सानो पाइलाका प्रमुख कार्यकारी अध्यक्ष कञ्चन झा, माइती नेपालकी सङ्गीता पुरी, आफन्त नेपाल, साना हात, पहल संस्थाका दिलीपराज कार्र्की, वीरगंज युवा समाजका कमल चौगार्इं,स्प्रिट क्लब, टाइगर क्लब, साइक्लिङ क्लब अफ वीरगंजका सञ्जय अग्रवाल, मीनाबजार सामुदायिक प्रहरी सेवाका विदुर गुप्ता, नेपाल रेडक्रसका राजन श्रीवास्तव सम्मानित भएका थिए।
पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरको सहजीकरणमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, जगरनाथपुरका अध्यक्ष जालिम मियाँ, विदुर गुप्तालगायतले प्रहरी उपरीक्षक पन्तको आगामी कार्यकाल सफल होस् भनी शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै एसपी पन्तले कोभिड नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न यहाँको जनमानस, नागरिक समाज तथा पत्रकारलगायत विभिन्न सङ्घसंस्थाले लगाएको गुन बिर्सिन नसक्ने र वीरगंजको अनुभव जीवनभरि काम लाग्ने चर्चा गरिन्। उनले २१ वर्षे सेवा अवधिमा कहिले पनि गलती नगरेको दाबी गर्दै आउने बेला पत्रकार सम्मेलन गरेको र जाने बेलामा पनि पत्रकार सम्मेलन र सम्मान कार्यक्रम गरेर जाँदै गरेको स्पष्ट पारिन्।
कार्यक्रमको अन्त्यमा पत्रकारहरूको लागि पर्सा प्रहरी वा एसपी पन्तका कमी कमजोरीबारे फ्लोर ओपन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here