प्रस, ठोरी, २५ पुस/
पर्साको ठोरी गाउँपालिका–४ मा बाघको आतङ्क फेरि बढेको छ।
पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँँ पसेको बाघले तीन दिनयता सो टोलमा बाख्रा मार्न थालेपछि स्थानीय नै त्रसित भएका छन्।
बिहीवार राति पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँँ पसेको बाघले वडा नं ४ मिलचोकका कृष्णबहादुर श्रेष्ठको खोरबाट बाघले बाख्रा मारेको थियो। सोही राति वडा नं ४ आठघरेका तिलक श्रेष्ठ र उनको छिमेकीको खोरबाट दुइटा खसी बाघले मारेको पीडित श्रेष्ठले बताए।
बुधवार राति मिलचोकका भक्तकान्त अधिकारीले घरमा पालेको खसीलाई बाघले लछारेर मारेको थियो। अघिल्लो राति मात्र सोही ठाउँका प्रेमबहादुर स्याङ्बोको घरमा पालेको माउ बाख्रा पनि बाघले मारेको थियो।
रात पर्ने बित्तिकै बाघले खोरमा झम्टेर बाख्रा मार्न थालेपछि किसानले पशुधनको क्षति बेहोर्नुपरेको त छँदैछ, अर्काेतिर मान्छेलाई आक्रमण गर्ला भन्ने डर पनि उत्तिकै बढेको स्थानीयवासीको चिन्ता छ। केही समयअघि बाघ आतङ्क रहेको वडा नं ४ मा दशैंयता छिटपुटबाहेक बाघले बाख्रा मार्ने घटनामा कमी आएको भएपनि चीसोसँगै बाक्लो हुस्सु लाग्न थालेपछि बाघले फेरि आतङ्क मचाउन थालेको छ।
निकुञ्जमा चराउन लैजाँदा बाघले बाख्रा मारेको लेखाजोखा नै छैन। गत कात्तिकमा मात्र निकुञ्ज किनारमा चराउन लगेको वडा नं ४ शान्तिटोलका काइला लोप्चनले पालेको १० वटा खसीबाख्रा बाघले मार्दा उनको खोर नै रित्तो भएको थियो। रात पर्ने बित्तिकै बाघ बस्तीमा प्रवेश गर्न थालेपछि रातको समयमा हिंड्डुल गर्न डर लागेको स्थानीय प्रेम श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here