उमाशङ्कर द्विवेदी
यद्यपि रावण देउता र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूको लागि कण्टकरूपी थियो। रामले उसलाई उसका आफन्तहरूसहित मारेर सीतालाई फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्राज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नाम महायज्ञको अनुष्ठान गरेका थिए।
श्री रामचन्द्रजीले भोक र प्यासमाथि विजय पाइसकेका थिए। सम्पूर्ण देहधारीका रोगहरूलाई नष्ट पारिदिएका थिए। उनी कल्याणमय गुणहरूबाट सम्पन्न थिए र सदैव आफ्नो तेजबाट प्रकाशमय रहन्थे। सबै प्राणीभन्दा अधिक तेजस्वी थिए। रामको शासनकालमा यस पृथ्वीमाथि देउता, ऋषि र मानिसहरू एकैसाथ रहन्थे। उनको राज्यमा प्राणीहरूको प्राण, अपान र समान आदि प्राणहरू क्षीण हँुदैनथे। त्यति बेला सबैको आयु लामो हुन्थ्यो। कुनै नवजवान मर्दैनथ्यो। देउता र पितर वेदहरूको विधिबाट प्रसन्न भएर हव्य र कव्य ग्रहण गर्दथे। रामको राज्यमा उपियाँ, उडुसहरूको नाम अस्तित्व थिएन। विषालु सर्पहरू नष्ट भइसकेका थिए। कोही पानीमा डुबेर वा आगोमा जलेर मर्दैनथ्यो। त्यति बेलाका मानिसहरू अधर्ममा रुचि राख्ने, लोभी र मूर्ख हँुदैनथे। सबै वर्णका मान्छेहरू शिष्ट, बुद्धिमान् र आफ्नो कर्तव्य पालन गर्ने खालका थिए।
जनस्थानमा राक्षसहरूले पितर र देउताहरूको पूजा नष्ट पारिदिएका थिए। तिनीहरूलाई रामले मारेर पुनः प्रचलित पारिदिएका थिए। त्यति बेला एक/एक मानिसका हजारौं सन्तान उत्पन्न हुन्थे र तिनीहरूको आयु पनि एक/एक सहस्त्र वर्षको हुन्थ्यो। ठूलाले आफूभन्दा कान्छोको श्राद्ध गर्नुपर्दैनथ्यो। भगवान् रामको श्यामसुन्दर छवि, तरुण अवस्था र अलिक अरुणायुक्त आँखा थियो। भुजाहरू सुन्दर तथा घँुडासम्म लाम्चो थियो। सिंहको समान काँध थियो। उनको झलक सबै जीवलाई मोहित पार्ने खालको थियो। उनले एघार हजार वर्षसम्म राज्य गरे। त्यति बेलाका मान्छेहरूको जिब्रोमा केवल रामको नै नाम हुन्थ्यो। अन्तमा आफू र आफ्ना भाइहरूको अंशस्वरूप दुई/दुई पुत्रद्वारा आठवटा राजवंशको स्थापना गरेर उनले चारै वर्णका प्रजाहरूलाई साथमा लिएर परमधाम गमन गरे। सृञ्जय, तिमी र तिम्रा पुत्रबाट सर्वथा श्रेष्ठ ती राम पनि यदि यहाँ रहन सकेनन् भने तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ ?
नारदजीले पुनः भने– सृञ्जय, राजा भागीरथको मृत्युको कुरा पनि सुनिन्छ। उनले यज्ञ गर्ने बेला गङ्गाजीको दुवै तटमा सुनको इँटले घाट बनाउन लगाएका थिए र सुनको आभूषणबाट विभूषित दश लाख कन्या ब्राह्मणलाई दान गरेका थिए। सबै कन्या रथमा बसेका थिए, सबै रथमा चार/चार वटा घोडा जोतिएका थिए। प्रत्येक रथको पछिपछि एक/एक सय हात्ती सुवर्ण माला लगाएर हिंडिरहेका थिए। एक/एक हात्तीको पछिपछि हजार/हजार वटा घोडा, प्रत्येक घोडाको पछिपछि एक/एक सय गाई र गाईहरूको पछि/पछि बाख्रा र भेंडाहरूको बथान थियो। यस प्रकार उनले धेरै दक्षिणा र दान दिएका थिए। गङ्गाजी घुइँचोबाट आत्तिएर– मेरो रक्षा गर, मेरो रक्षा गर भन्दै भगीरथको काखमा गएर बसिन्। त्यसैले उनी भागीरथकी पुत्री भइन् र उनको नाम ‘भागीरथी’ हुन पुग्यो। गङ्गादेवीले पनि उनलाई पिता भनेर सम्बोधन गरिन्। जुनसुकै ब्राह्मणले जब–जब जुन–जुन वस्तुको इच्छा गरे, जितेन्द्रिय राजाले त्यो त्यो वस्तु उनलाई तत्काल अर्पण गरे। राजा भागीरथ ब्राह्मणहरूको आशीर्वाद र कृपाले ब्रह्मलोलाई प्राप्त गरे। सृञ्जय, उनी तिमी र तिम्रा पुत्रभन्दा सर्वथा श्रेष्ठ थिए। त्यसैले तिमीले आफ्नो पुत्रको लागि शोक गर्नुहँुदैन।
इलविलाका पुत्र राजा दिलीप पनि मरेका थिए, जसको एक सय यज्ञहरूमा लाखौं तत्व ज्ञानी एवं याज्ञिक ब्राह्मण नियुक्त भएका थिए। उनले यज्ञ गर्दा धन–धान्यबाट सम्पन्न यो सम्पूर्ण पृथ्वी ब्राह्मणहरूलाई दान गरिदिएका थिए। राजा दिलीपको यज्ञमा सुनको सडक बनेको थियो। इन्द्र आदि देउता उनलाई धर्मको समान मानेर उनको यज्ञमा उपस्थित भएका थिए। उनको सुवर्णमय सभा भवन सदैव देदीप्यमान रहन्थ्यो। त्यहाँ रसको खोलो बग्दथ्यो, अन्नको राशको पहाड बनेको थियो। सुनले बनेका हजारौं यूप थिए। त्यहाँ गन्धर्वराज विश्वावसु बडो प्रसन्नताका साथ वीणावादन गर्दथे। सबै प्राणी ती राजाको सम्मान गर्दथे। एउटा कुरा उनको राज्यमा अद्भुत थियो, जुन अन्य राजाहरूकोमा थिएन। राजा दिलीप युद्ध गर्ने बेला जब जलमा प्रवेश गर्दथे, उनको रथको पाङ्ग्रा पानीमा भिज्दैनथ्यो, डुब्दैनथ्यो। ती सत्यवादी तथा उदार नरेशको जसले दर्शन गर्न पाउँदथ्यो, ऊ पनि स्वर्गलोकको अधिकारी हुन पुग्दथ्यो। राजा दिलीपको घरमा यी पाँच प्रकारका शब्दहरू कहिले पनि बन्द हँुदैनथे– स्वाध्यायको आवाज, धनुषको टङ्कार, अतिथिहरूको लागि खाऊ, पिऊ अनि मोज गर। ती राजा र उनका पुत्र तिमी र तिम्रा पुत्रभन्दा श्रेष्ठ थिए, तर तिनीहरू पनि जीवित रहन सकेनन्, अनि तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ। क्रमशः…