राधेश्याम पटेल, परवानीपुर, २३ पुस/
कोरोना भाइरस (कोभिड–१९) महामारीले ह्याचरी उद्योग प्रभावित भएकोे छ। गत चैतदेखि साउनसम्म थला परेको स्वदेशी ह्याचरी उद्योग अझै  लयमा आउन सकेको छैन। अहिले पनि निकै समस्याको सामना गर्नुपरेको ह्याचरी उद्योगीहरूले बताएका छन्। नेपालमा करीब ३ सय २० वटा ह्याचरी उद्योग सञ्चालनमा रहेको उद्योगीहरू बताउँछन्। न्यूनतम १० करोडदेखि अढाई अर्ब रुपैयाँसम्मको उद्योग सञ्चालनमा छ।
कोरोना महामारीको कारण ५ महीना थलिएको ह््याचरी उद्योग अब भने केही तङ्ग्रिन थालेको तर समस्या धेरैै भएकाले अपेक्षित प्रगति हुन नसकेको ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष ऋषि पौडेल बताउँछन्। पौडेलका अनुसार ह्याचरी उद्योगले गत चैतदेखि साउनसम्म मासिक करीब १ करोड २० लाख चल्लाको दरले ६ करोड चल्ला जमीनमुनि गाडेर नष्ट गर्नुपरेको थियो। सोही कारण ह्याचरी उद्योग ठूलो घाटामा गएको हो। “पहिलेको अवस्थाभन्दा बिस्तारै ह्याचरी उद्योग तङ्ग्रिन थालेको छ,” उनले भने, “तर पर्याप्त मात्रामा विदेशबाट मगाइने माउ कुखुरा ल्याउन नसक्दा समस्या भइरहेको छ। पहिले ६० रुपैयाँमा पाइने माउ कुखुरा अहिले विमान चार्टर्ड गरी प्रतिकुखुरा दुई सय रुपैयाँमा ल्याउनुपरेको छ।”
चितवनकै एक उद्योगले थाइल्यान्डबाट बोइलर जातिको माउ कुखुरा (प्यारेन्ट्स) रु २ सयको दरमा एउटा विमान चार्टर्ड गरी २९ हजार प्यारेन्ट्स मगाएको छ। ह्याचरी उद्योगको पाकेट क्षेत्र चितवन मानिन्छ। चितवनपछि काठमाडौं, पोखरा, विराटनगर, भैरहवा र वीरगंजमा पनि पछिल्लोपटक ह्याचरी उद्योगमा ठूलो लगानी थपिंदै गएको छ।
हप्तामा ३० लाख चल्लाको नेपालमा खपत छ। कोरोना महामारीले प्यारेन्ट्स आयातमा समस्या देखिएपछि अधिकांश उद्योगले चल्ला उत्पादन घटाएको सङ्घका वरिष्ठ उपाध्यक्ष पौडेल बताउँछन्। उनले भने, “चाहिएको मात्रामा चल्ला उत्पादन हुन सकिरहेको छैन।
कोभिडभन्दा पहिले प्रतिचल्ला रु ४० मा बिक्री भइरहेको थियो भने अहिले केही उद्योगले चल्लाको मूल्य बोइलरको रु ६० र लेयर्सको रु सय तोकेको छ। लेयर्सको माउ कुखुरा मगाउँदा ५० प्रतिशत भाले र ५० प्रतिशत पोथी हुने भएकाले लेयर्स कुखुराका चल्लाको दाम सय रुपैयाँ तोकिएको हो।”
पोषक ब्रिडर्स प्रालि हटिया हेटौंडाका सञ्चालक राजेश रूँगटाका अनुसार युरोपमा कोरोनाको नयाँ सङ्क्रमण देखा परेकोले अन्तर्राष्ट्रिय विमान सेवा ठप्प भएर उत्पादन कम भएको हो। उनले हाल चल्लाको उत्पादन विगतमा भन्दा ७५ प्रतिशत कटौती गरी २५ प्रतिशतमा झारिएको बताए। उनले भने, “पहिले हप्तामा ३० लाख चल्लाको खपत थियो तर हप्तामा ४५ लाख चल्ला उत्पादन भइरहेको थियो, अहिले माग र उत्पादन हप्तामा ३० लाख चल्लाको हाराहारीमा भएकोले मूल्यमा केही प्रतिशत वृद्धि भएको हो।” उनको उद्योगमा पहिले ४५ हजार बोइलरको प्यारेन्ट्स थियो भने अहिले ३० हजार मात्र छ। यसले चल्ला उत्पादनमा समस्या भइरहेको उनले बताए।
बोइलर खासगरी थाइल्यान्ड, मलेसिया, फिलिपिन्स र अस्ट्रेलियाबाट मगाउने गरिन्छ भने लेयर्स जर्मनीबाट मगाउने गरिन्छ। तर कोरोना महामारीको कारणले उक्त मुलुकहरूबाट कुखुराको माउ मगाउन समस्या भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here