प्रस, पर्सागढी, २१ पुस/
पर्सागढी नगरपालिकाका विद्यालय जाने बालबालिकाहरू अहिले पनि जङ्गल फँडानीमा सक्रिय देखिएका छन्।
लकडाउन शुरू भएपछि विद्यालयहरू बन्द भएको बेलादेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरू जङ्गल पँmडानीमा संलग्न थिए। अहिले पर्सागढी नगरपालिकामा कक्षा ८ देखि १२ सम्मको अध्ययन–अध्यापन शुरू छ र त्यसमुनिका कक्षाहरू सञ्चालन हुन सकेका छैनन्। विद्यालयका कक्षा ७ भन्दा मुनिका विद्यार्थीहरू अहिले पनि जङ्गल जाने, स्याउला काट्ने र दाउरा ल्याउने कार्यमा सक्रिय छन्।
वनकर्मी र उपभोक्ता समितिले यस्ता बालकहरूबाट जङ्गल फँडानी नरोकिएको बताएका छन्। सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साहले विद्यार्थीहरू जङ्गल पस्ने र वृक्षरोपण गरिएका ससाना बोटहरू नष्ट गर्ने गरेको बताए। यसका साथै रूखका हाँगा काटेर लैजाने कार्यमा पनि उनीहरूको संलग्नता रहेको बताए।
विद्यार्थी भएको कारण अहिलेसम्म उनीहरूलाई डराउने र धपाउने काम भइरहेको अध्यक्ष साहले बताए। विद्यार्थीहरूले भने लामो समयसम्म विद्यालय बन्द हुँदा घरका मानिसहरूले किचकिच गर्ने र उनीहरूलाई खुशी पार्न स्याउला, दाउरा ल्याउने गरेको बताए। बिहान ६ बजे जङ्गल पसेर ११ बजे घर फर्कने र खाना खाएर दिनभरि खेल्ने गरेका छन्। स्याउला र दाउरा नल्याउने बालबालिकाहरूलाई अभिभावकले खेलकूदमा बन्देज गरेकाले उनीहरूले यो कार्यलाई निरन्तरता दिनुपरेको बाध्यता बताए।
एकजना विद्यार्थीले बिहान जङ्गल पसेर स्याउलो, दाउरा ल्याएपछि दिनभरि खेल्दा पनि अभिभावकले केही नभन्ने गरेको बताए।