जाडो आओस्, बाढी–पहिरोले थला पारोस् वा भूकम्प आगजनीमा परेर कसैले सास्ती पाओस्, अहिले दाताहरूको लाम नै लाग्छ, राहत वितरणका लागि। अचेल सरकार पनि आफूलाई लोककल्याणकारी देखाउन यस्ता काममा अघि सर्ने गरेको छ। यो प्रवृत्ति तात्कालिक राहतको दृष्टिले मानवीय प्रयास हो, तर यस्ता दातव्यले दाताहरूको अहम्तुष्टि र राहत पाउने व्यक्तिको मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने हेक्का भने राखेको पाइँदैन। व्यक्ति वा संस्था दाता छ भने भन्नु केही छैन, किनकि उनीहरूले गर्न सक्ने भनेको तात्कालिक सहयोग मात्र हो। तर यस्ता कार्यले देशमा एउटा छुट्टै मनोविज्ञान विकसित भइरहेकोतर्फ कसैको ध्यान गएको जस्तो लाग्दैन। विपन्नले हात थाप्नु एउटा कुरा हो, तर सम्पन्नले पनि सित्तैको राहत प्राप्तिका लागि –याल चुहाउनु कतिसम्म मानवीय हुन सक्छ, विचार पु–याउनुपर्छ। यस्तै मनोविज्ञान एकातिर सम्पन्नमा र अर्कोतिर दुःख पर्दा सहयोग पाइँदो रहेछ भनेर निष्क्रिय जीवनशैली विकसित हुने  समस्या मानव समाजमा हुर्कने तथ्यलाई दाता (व्यक्ति, संस्था वा राज्य)ले बिर्सन हुँदैन।
भर्खरै पर्सा जिल्लाको परसवाका ६० घर मुसहरले दाताबाट सिरक प्राप्त गरेको खबर आएको छ। दिने व्यक्तिको भावनाको कदर गर्नुपर्छ, किनकि यस्तै घटना त्यसै समुदायसँग केही वर्ष पहिले भएको थियो। समाचारमा परसवाका मुसहर समुदायसँग चीसो छल्न न्यायो कपडा नभएको समाचार प्रकाशित भएपछि उनीहरूका लागि दाताले सिरकको व्यवस्था गरिदिएको थियो। त्यही मुसहर समुदायको सिरक यस वर्ष कामै नलाग्नेगरी च्यातियो। च्यातिएको सिरकको फोटोसहित समाचार प्रकाशित भयो र फेरि दाताहरू जुर्मुराएर यसपटक पनि सिरक दान गरे। यस ठाउँमा विचारणीय के छ भने आजभन्दा ५ वा ६ वर्ष पहिले ती मुसहर परिवारको अवस्था जे थियो, आज पनि किन त्यस्तै छ ? गरीबी निवारणको लागि सरकारले चलाइरहेको यतिका कार्यक्रम हुँदाहुँदै पनि उनीहरूको जीवनमा यति पनि विकास हुन सकेन कि उनीहरू हजार/पाँच सयको सिरक खरीद गर्न सकून्। हुनेखाने र मन हुनेले त दिए। के ती विपन्नप्रति सरकारको दायित्व समाप्त भयो ? के दाताहरूले पनि जाबो ६० परिवारको जीवनस्तर उकास्न जाडोबाहेक समयमा कुनै उद्यम गर्न सक्दैनन् कि अर्को पाँच वर्षमा फेरि उनीहरूका लागि सिरक दान दिने अवस्था नआओस्, उनीहरू आफैं खरीद गर्न सकून् !
भावना र आडम्बरमा यत्तिमात्र फरक हुन्छ। न सरकारसँग भावना छ, न दाताहरू नै आडम्बरविहीन छन्। आज जति दाताले परसवाका मुसहरहरूका लागि दान दिए, त्यतिकै रकमबाट उनीहरूका लागि स्वरोजगारका कुनै कार्यक्रम चलाइदिएको भए पाँच वर्षमा उनीहरू यति योग्य त अवश्य नै हुने थिए कि आफ्नो आवश्यकताको सामल आफैं खरीद गरी स्वावलम्बी जीवन यापन गर्न सक्थे। क्यारेबियन एउटा देशमा विप्लवकारी भूकम्प आउँदा दाताहरू यति न द्रवित भए कि राहतको ओइरो नै लगाइदिए। राहतको कुनै सीमा रहेन, पछिल्लो रिपोर्टमा त्यस देशका बासिन्दाले वर्षौंसम्म कामै नगरी खान पुग्ने भयो। राहत दिने यस्तै मानसिकता रह्यो भने भोलि किन कसैले काम गर्ने ? राहत एकपटकका लागि, तात्कालिक समस्या टार्ने खालको मात्र भए राम्रो। थप राहत, उनीहरूलाई स्वावलम्बी बनाउने उद्यम वा रोजगार उपलब्ध गराउनु नै उपयुक्त हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here