प्रस, सेढवा, २० पुस/
पर्सा जिल्लाका पालिकाहरूमध्ये ग्रामीण क्षेत्रमा सेवा दिंदै आएका निजी क्षेत्रका बैंकहरूले पनि सेवाग्राहीसँग ऋण दिएबापत कमिशन लिने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन्।
कुल ऋण रकमको चार प्रतिशतसम्म कमिशन माग गरिने र कमिशन दिनेहरूको मात्र काम हुने गरेको एकजना सेवाग्राहीले बताए। कमिशन नदिने ऋणीलाई विभिन्न कागजी झन्झट तेस्र्याएर दुःख दिने गरिएको उनले गुनासो गरे। कमिशन दिनेहरूको काम दुई–तीन हप्तामा सम्पन्न हुने गरेको छ भने कमिशन नदिनेको हकमा महीनौं बैंक धाउनुपर्ने अवस्था रहेको उनले बताए।
ग्रामीण क्षेत्रमा रहेका निजी क्षेत्रका बैंकहरूको अन्य सेवा प्रभावकारी रहेको सेवाग्राहीहरूले बताए। ऋणबाहेकका सेवाहरूमा निजी क्षेत्रका बैंकले सेवाग्राहीलाई सघाउँदै आएका छन्। यसबारेमा एकजना बैंकका प्रबन्धकले बिचौलियाले ऋणीसँग कमिशन लिने गरेको र बैंकका कर्मचारीको नाम बदनाम गर्न खोजेको बताए। तर सेवाग्राहीले भने बैंक कर्मचारीको मिलेमतोविना बिचौलियाले रकम लिन नसक्ने दाबी गरेका छन्।
बिचौलियाले लिएको ऋणमा बैंक कर्मचारीको संलग्नता नहुँदो हो भने बिचौलियामार्फत काम चाँडो हुनु र बिचौलिया नभएका ऋणीहरूको काम ढिलो हुने गरेको कारणबारे बैंकले स्पष्ट गर्नुपर्ने बताए। जीराभवानी गाउँपालिकाका प्रमुख रामप्रीत महतोले निजी क्षेत्रका बैंकहरूले ऋण दिंदा कमिशन लिएको कुरा उदेकलाग्दो भएको बताए। उनले यसबारे आफूलाई कसैले जानकारी नगराएको बताए। अबका दिनमा यसबारेमा पनि गापाले निगरानी बढाउने र कमिशन दिएर ऋण लिनुपर्ने अवस्था हटाउने प्रतिबद्धता जाहेर गरेका छन्।
पर्साका ग्रामीण क्षेत्रमा एनआइसी एशियाको चारवटा शाखा छन् भने सानिमा, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले सेवा दिंदै आएका छन्।