प्रस, जनकपुरधाम, १९ पुस/
सङ्घीय सरकारको शहरी विकासमन्त्री प्रभु साहले धनुषामा निर्माणाधीन विभिन्न विकास निर्माण आयोजनाहरूको निरीक्षण गरेका छन्। उनले आइतवार स्थलगत निरीक्षण गरेका हुन्।
मन्त्री साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं १३ मा निर्माणाधीन सीतापुर वाटिका, मणिमण्डप पूर्वाधार एवं अन्य निर्माण कार्यलगायत जनकपुरको सडक तथा नाला निर्माण साथै निर्माणाधीन दशरथ तलाउको निरीक्षण गरेका थिए।
उनले सघन शहरी कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा सीतापुष्प वाटिका मणिमण्डपमा डिपिआरबमोजिमको पूर्वाधार एवं अन्य निर्माण कार्य तथा सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गरेका थिए।
सो अवसरमा मन्त्री साहले धनुषाको पर्यटकीयस्थलमा समेत भौतिक विकास गरी पर्यटन विकासमा टेवा पु–याउने सङ्घीय सरकारको योजना रहेको बताए। अनुगमनका क्रममा मन्त्री साहले आयोजना समयमैं सम्पन्न नगर्ने प्रवृत्ति विकासविरोधी प्रवृत्ति हो भन्दै यस वर्ष कोरोनाका कारण धेरै आयोजनालाई प्रभाव पारे पनि अब कोरोनासँग जुध्दै विकास निर्माणलाई अगाडि बढाउनुपर्ने बताए।
जनकपुरधाम वडा नं १३ स्थित सीतापुष्प वाटिका मणिमण्डपमा पूर्वाधार एवं अन्य निर्माण कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले १८ करोड १५ लाख २२ हजार ७९३ रुपैयाँँको योजनामा लगानी गरिरहेको छ। सो कार्यको लागि रविना कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्का लिएको छ। उक्त आयोजना २०७८ जेठ महीनामा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ।
यस आयोजना अन्तर्गत निर्माण हुने मुख्य संरचनाहरूमा जनकपुरधाम मिथिला क्षेत्रको पौराणिकता झल्किने दुर्ई तले राजा जनक दरबार भवन, २५ वटा कोठा, वर–वधूको विश्रामका लागि दुईवटा धर्मशाला, एउटा स्वयंवर मण्डपसहित तीनवटा मण्डप, दरबार भवनमा २१ वटा शौचालय र ३० जना क्षमताको सुविधासम्पन्न कोठाहरू छन्।
यसैगरी, सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षण, जनकपुरधाम उपमहानगरपालिकाका मुख्य शहर पूर्वाधार योजना छ। उक्त योजना निर्माणका लागि जनकपुरधामस्थित शर्मा स्वच्छन्द जेभीले ८३ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। सो योजना अन्तर्गत हाल १७ किलोमिटर सडक निर्माण कार्य भइरहेको छ। ८३ करोड ७३ लाख २८ हजार २७५ रुपैयाँँ लागत अनुमान रहेको यो आयोजना २०७७ फागुन महीनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here