प्रस, वीरगंज, १६ पुस/
वीरगंज महानगर–२ रजतजयन्ती चोक निवासी मनोज अग्रवाललाई प्रहरीले सोधपूछको लागि नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीमा रहेको लुम्बिनी चिनीमिलका उखु किसानहरूलाई दिनुपर्ने रु ७ करोड बक्यौता नतिरेको कसूरमा उनलाई प्रहरीले नियन्त्रणलाई लिएर नवलपरासी पठाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
अग्रवाल लुम्बिनी चिनीमिलको सञ्चालक समितिका सदस्य हुन्। उनकी भाइबुहारी सुशीला गोयल मिलको अध्यक्ष हुन् र उनी फरार भएकोले अग्रवाललाई नियन्त्रणमा लिएको जिप्रका नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले बताए।
प्रउ केसीले सुशीला गोयलको नाममा पक्राउ पुर्जी जारी भएको र उनी फरार भएको कारण सञ्चालक समितिका सदस्य अग्रवाललाई सोधपूछका लागि नियन्त्रणमा लिएको बताए। लुम्बिनी चिनीमिलका किसानहरूको रु ७ करोड बक्यौतामध्ये रु २ करोड पुस १५ गते किसानहरूको खातामा हालिसकेको प्रउ केसीले बताए।