प्रस, वीरगंज, १६ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगर–३ छपकैयास्थित शिवशक्ति रिप्याकिङ तथा त्रिदेव रिप्याकिड्ढा सञ्चालकद्वयमाथि कालोबजारी ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। सञ्चालकद्वय दीपक वर्णवाल र चन्द्रशेखर वर्णवालमाथि मुद्दा दर्ता गरी पाँच दिन थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन्।
मङ्गलवार राति प्रउ पन्त नेतृत्वको टोलीले ती दुई उद्योगमा छापा मारी सामान जफ्त गरेको थियो। सञ्चालकद्वयले महालक्ष्मी ब्रान्डको सोयाबिनको तेललाई तिलको तेल बनाइ रिप्याकिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार वर्णवालद्वयले नक्कली लेबल र स्टिकर प्रयोग गरी उपकार र दीपज्योति ब्रान्डको तिलको तेल बजारमा बिक्री गर्दै आएको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो।
छापामारीको क्रममा प्रहरीले घटनास्थलबाट बीस लाख मूल्यभन्दा बढीको दुई ट्रक नक्कली तिलको तेल, कागजपत्र, स्टिकर, तेल भर्ने मेशिनलगायत बरामद गरेको थियो। सोयाबिन तेललाई नक्कली तिलको तेल बनाउँदै उपभोक्ता ठगी गर्ने सञ्चालकद्वय वर्णवाललाई बचाउन केही राजनीतिक दलका नेताहरू सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ।