प्रस, परवानीपुर, १६ पुस/
वीरगंज, लिङ्करोडस्थित माछापुच्छे« बैंकबाट रु ८ लाख दिनदहाडै चोरी भएको घटनामा तीनजनाको मिलेमतो रहेको प्रमाण फेला परेको छ।
बैंकको सिसिटिभी फुटेजबाट रकम जम्मा गर्न आएका वीरगंजका मनु पटेल, विशालकुमार सर्राफ र रौतहटका विराजकुमार साह गरी तीनजना साथीको पूर्वयोजनामा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट खुलेको छ। वीरगंजका एकजना व्यवसायीका कर्मचारी हुन् मनोज पटेल।
गत मङ्सिर १४ गते दिउँसो साढे १२ बजे रकम जम्मा गर्न जाँदा बैंकको गेटमा रकमसहितको झोला लिएर पटेल उभिएका थिए। सिबिजेड मोटरसाइकल चलाएर विराज आएका थिए, उनको पछाडि विशाल बसेका थिए। मनुको हातबाट विशालले झोला खोसेर फरार भएपछि मनु जिल्ला प्रहरी कार्यालय, पर्सामा रकम लुटियो भनेर जाहेरी दिएका थिए।
तीन दिनको अनुसन्धानपछि सिसिटिभी फुटेज र मनुको बयानको आधारमा प्रहरीले विशालको घरमा छापा मार्दा १ लाख ३० हजार र चोरीकाण्डमा प्रयोग भएको सिबिजेड मोटरसाइकल बरामद भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय अनुसार आजदेखि थुनछेक बहस शुरू भएको र भोलिसम्म जारी रहने बताइएको छ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलास नं ६ मा उक्त मुद्दाको थुनछेक बहस भइरहेको छ। प्रहरीले पेश गरेको मिसिलको आधारमा सरकारी वकीलको कार्यालयले डाँका, चोरी तथा आपराधिक विश्वासघात मुद्दा चलाएको छ। विशाल र विराजमाथि डाँकाचोरीको मुद्दा र मनुमाथि डाँकाचोरी र आपराधिक विश्वासघातको मुद्दा चलेको छ। डाँकाचोरीमा ५–१० वर्षसम्म कैद, रु ५० हजारदेखि १ लाखसम्म जरिवाना र आपराधिक विश्वासघात मुद्दामा ३ वर्षसम्म कैद सजायको व्यवस्था छ।