एउटा सचिव प्राणीले गर्ने क्रियाकलापका दुई पाटा हुन्छन्– आन्तरिक र बाहिरी। यसलाई मन र मुख पनि भनिन्छ, मनमा एउटा कुरा मुखमा अर्कै कुरा। अर्थात् वास्तविकता र देखावा फरक हुन्छन्। वास्तविकताभन्दा फरक किसिमको हाउभाउ वा प्रतिक्रिया दिनु नै अभिनय र देखावा हो। तर अधिकांश मानिस भित्री पक्षभन्दा पनि बाहिरी तथा अभिनय पक्षलाई हेरेर मूल्याङ्कन गर्छन्। सार पक्षभन्दा रूप पक्षलाई प्राथमिकता दिनेहरू धोखामा पर्ने निश्चित छ। एउटा भनाइ छ, “म कस्तो छु भन्ने कुरा मलाई मात्रै थाहा छ, अरूले त केवल अनुमान लगाउने हुन्।” भन्नेहरू भन्छन्, “कसको मन कस्तो भन्ने कुरा उसको कामबाट थाहा हुन्छ।” यो भनाइ पनि अन्य प्राणीमा लागू हुन्छ तर मानवजातिमा हूबहू लागू हुने अवस्था छैन। माउसुली प्रवृत्तिका मानिसहरू धेरै छन्। माउसुलीले पुच्छर छोडेर दुश्मनलाई झुक्याएझैं मानिसले पनि अरूलाई आफ्नो हकिकतसम्म नपुगून् भनेर झुक्याउन जे गर्दा सजिलो हुन्छ त्यसै गर्छन्। मानव संसारमा हरेक चीजको मूल्याङ्कन गर्ने तीन किसिमका नजर हुन्छन्– ध्यानी, ज्ञानी र अज्ञानी। ध्यानीहरू बाहिरीरूपबाट भन्दा पनि ध्यान दृष्टिले विचार गर्छन् र सोही आधारमा मानवको मूल्याङ्कन गर्छन्। ज्ञानीहरू आफ्नो अनुभव अध्ययन र त्यसबाट उपलब्ध ज्ञान सीपको आधारमा सार पक्षलाई समेत विचार पु–याएर मूल्याङ्कन गर्छन्। तर अज्ञानीहरू भने रूप पक्षलाई मात्रै हेरेर दाबी ठोकिदिन्छन्।
भीख मागेर परिवारलाई सहयोग गरिरहेकी एक बालिकाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, “अभिनय गरेपछि मात्रै भीख पाइन्छ।” अनुहार न्याउरो, अँध्यारो पार्नुपर्ने, रुने कराउने र आँसु खसाउने गरे मात्रै दाताले भीख दिन्छन्। उनलाई रुन, कराउन, आँसु खसाउन मन लागेको छैन। घरको आर्थिक अवस्था कमजोर भएपनि उनलाई हाँसेर नै भीख माग्ने इच्छा छ, तर के गर्ने समाज तथा मानवीय संसारको माग नै रोएको देख्नुपर्नेछ। भीख माग्दा पनि हाँसेरै माग्न पाए अर्थात् भिखारी पनि हाँस्दै, गाउँदै, रमाउँदै हिंडेको देख्न पाउने हो भने त्यो समाज कति सुन्दर हुन्थ्यो होला। यो परिवर्तनका लागि धेरै ठूलो मेहनत गर्नुपर्दैन। मानवले मानवप्रति गर्ने मूल्याङ्कनमा सुधार गरे पुग्छ। आफ्नो नजरलाई परिवर्तन गर्ने र ज्ञानी बनेर मूल्याङ्कन गर्ने हो भने सम्भव छ। हरेक समाजले आआफ्नो क्षेत्रमा रहेका दीनदुःखी, असहायको पहिचान गरेर स्वतःस्फूर्तरूपमा थोरै–थोरै सहयोग गरे पनि थोपा–थोपाबाट नदी बन्नेछ।
रूप पक्ष अर्थात् अभिनयलाई नै प्राथमिकता दिएर मूल्याङ्कन गर्दा दाताहरू पटक–पटक धोखा खाइरहेका हुन्छन्। तर त्यसतर्फ ध्यान दिएर सोचेको हुँदैन। सबैभन्दा धेरै त राजनीतिक भीखमङ्गाबाट दाता परेशान छन्। जब चुनाव आउँछ, तबसम्म रुँदै कराउँदै झूटैको आँसु खसाल्दै नेताहरू भोट माग्न आइपुग्छन्। पिठ्यूँ थपथपाउने, खुट्टा समात्ने, दारी मुसार्नेलगायतका अभिनय हुन्छन्। कतिपय त सधैं चिनजान भएको एकै घरको अंशियार सरह आफन्त बनेर, साखुल्ले पार्दै मतमाथि अधिकार जमाउन आउँछन्, कर जोडेर गिडगिडाउँछन्, स्तुतिगान गाउँछन्। त्यति बेला मतदाता, जनता जनार्दन प्रसन्न हुँदै तथास्तु भनेर वरदान दिन्छन्। त्यसपछि उसको पालो शुरू हुन्छ, भस्मासुर सरह। यसर्थ अभिनयमा भन्दा पनि वास्तविकतालाई मूल्याङ्कन गरेर दान गरौं। त्यो सबैको हितमा हुनेछ।