प्रस, वीरगंज, १५ पुस/
नेकपाका महासचिव एवं सङ्घीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले मुलुक दुर्घटनातर्फ गइरहेको बेला राजनीतिक स्थिरता ल्याउन संसद् विघटन गर्नुपरेको बताएका छन्।
नेकपाको २ नं प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुक सही दिशातर्फ अगाडि बढ्दै गइरहेको बेला सहयोग गर्नुको साटो  पार्टीभित्रबाटै सरकारलाई काम गर्न नदिने, घेराबन्दी गर्ने र प्रधानमन्त्रीलाई महाभियोग लगाएर अक्षम बनाउनेसम्मको रणनीति अपनाएपछि बाध्य भएर प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको बताए। उनले पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको बेला नेता, कार्यकर्ताहरू तदारूकताका साथ अगाडि बढ्न आग्रह गरे। दुई अध्यक्ष प्रणालीमध्ये प्रथम अध्यक्ष ओलीले सरकार र अर्को अध्यक्ष प्रचण्डले पार्टी चलाउने लिखित सहमति भएपछि पनि प्रचण्डले अहिलेसम्म केन्द्रीय समितिको बैठक एकपटक पनि नबोलाएको र  भित्रभित्रै षड्यन्त्र गरी प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर मुलुकमा राजनीति अस्थिरता ल्याउने प्रपञ्च गरेको पौडेलको आरोप थियो।
नेकपाका महासचिवस पौडेलले पार्टीका केही नेता अहिले सडकबाट संसद् पुनस्र्थापनाको माग गर्नु दिवास्वप्नजस्तै रहेको बताए। ताजा जनादेशको लागि संसदीय निर्वाचनको मिति तय भएको र तोकिएको समयमा निर्वाचन हुने उनले बताए।
महासचिव पौडेलले पार्टीका अध्यक्ष्F प्रचण्डले प्रस्तुत गरेको आरोपपत्र विभाजनकारी रहेको भन्दै सो आरोपपत्र फिर्ता लिएर सच्चिएमा उनलाई अझै एक मौका दिन सकिने र पार्टीको एकता हुने सम्भावना रहेको पनि बताए। प्रचण्डको कार्यकारी अधिकार खोस्नेबाहेक अन्य नेतालाई अहिले पार्टीले केही नगरेको महासचिव पौडेलले बताए।  समयमा संसद् विघटन नभए प्रचण्डले मुलुक र पार्टीको सत्तासमेत कब्जा गर्ने उद्देश्यले अगाडि बढेका थिए भन्दै नेता पौडेलले प्रम ओलीले बाध्यात्मक कदम चालेको बताए।
कार्यक्रममा शहरी विकास निर्माणमन्त्री प्रभु साहले दुश्मनले गर्ने काम पार्टीभित्रका जिम्मेवार व्यक्तिहरूले गर्दै प्रतिक्रान्तिकारीको भूमिका निर्वाह गरेकाले पार्टी विभाजनको संघारमा पुगेको बताए। जनमुक्ति सेनाको बजेटमा भ्रष्टाचार गर्ने, दाम चढाएर दरबारमा लम्पसार पर्न जाने र जनताले नपत्याएर चुनाव हारेकाहरूको गोलबन्द नै प्रचण्ड–नेपाल समूह रहेको भन्दै मन्त्री साहले असली माओवादी क्रान्तिकारीहरू नेकपा मूल पार्टीमा रहेको जिकिर गरे।
नेकपा प्रदेश नं २ का अध्यक्षसमेत रहेका साहले प्रदेश नं २ एक ढिक्का रहेको भन्दै यहाँ केही षड्यन्त्रकारी मात्रै प्रचण्ड–नेपाल समूहमा गएको टिप्पणी गरे। “प्रदेश २ पार्टी कमिटीका  इन्चार्ज, अध्यक्ष्F र सचिव हामी सबैजना एकै ठाउँमा एक ढिक्का छौं,” नेता साहले बताए, “सडकमा कुद्नेहरूको भविष्य छैन, धमिलो पानीमा माछा मार्ने प्रयास नगरे हुन्छ।”
जनताको बीचमा जाने कार्य तथा चुनाव कहिल्यै पनि अलोकतान्त्रिक नहुने भन्दै उनले जनमतले बनेको सरकार बीचैमा हटाउन खोज्ने र चुनावलाई बिथोल्न षड्यन्त्र गर्ने पक्षहरू घोर अलोकतान्त्रिक भएको तर्क दिए। मन्त्री साहले पार्टीलाई मजबूत बनाउन पार्टीभित्र रहेका केही अवसरवादी नेताहरूलाई अझै निकाल्न जरुरी रहेको बताए ।
    सो पार्टी प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको सभापतित्वमा भएको अगुवा भेलामा कानूनमन्त्री लीलानाथ श्रेष्ठ, महिला विकासमन्त्री जुली महतो, पूर्वमन्त्री रघुवीर महासेठ, ज्वलाकुमारी साह, पार्टीका पर्सा अध्यक्ष प्रभु हजरा, प्रदेश सभासद ज्वाला साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । वीरगंज नगर सभागृहमा आयोजित कार्यक्रमको सहजीकरण पार्टी प्रदेश कमिटीका सचिव तथा राष्ट्रिय सभाका सांसद शुमन प्याकुरेल र नेता रामचन्द्र  मण्डलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here