प्रस, वीरगंज, ११ पुस/
नेकपाको विभाजन केन्द्रबाट क्रमशः गाउँटोलसम्म पुग्ने क्रम शुरू भएको छ। यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपाको पालिकास्तरीय अगुवा भेला शनिवार सम्पन्न भएको छ। पार्टी कमिटी अध्यक्ष वासुदेव महतो थारूको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा ओली पक्षका केन्द्रीय सदस्य राजकुमार गुप्ता मुख्य अतिथि थिए।
कार्यक्रममा अध्यक्ष महतोले पालिका कमिटी नै ओली पक्षमा रहेको घोषणा गरे। सो अवसरमा मुख्य अतिथि गुप्ताले  बितेको चुनावमा केपीशर्मा ओलीलाई प्रधानमन्त्री बनाउने र नेकपाको स्थिर सरकार दिने भनेर मतदाताको घरदैलोमा नेकपाका नेता, कार्यकर्ताले मत मागेको स्मरण गराउँदै जनभावनाविपरीत घेराबन्दी र षड्यन्त्र भएकोले पुनः जनताकै बीचमा आउनुपरेको बताए।
प्रधानमन्त्री ओलीले जनताको नासो जनतालाई नै सुम्पेको बताउँदै गुप्ताले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए। संविधानसभाका पूर्वसदस्यसमेत रहेका गुप्ताले आफ्नै पार्टीभित्रका प्रचण्ड–नेपाल समूहले स्थिर सरकारविरुद्ध गम्भीर षड्यन्त्र गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले चालेको कदम संवैधानिक र देशहितमा भएको जिकिर गरे।     
सम्पन्न भेलाले ९ सदस्यीय सचिवालय कमिटी गठन गर्नुका साथै तत्कालीन पालिका कमिटीका सचिव  कन्हैया साहलाई पदमुक्त गरेर चन्दन सहनीलाई सचिवको जिम्मेवारी दिएको नेकपा पर्सा जिल्ला कमिटीका सदस्य सञ्जीव मिश्रले जानकारी दिए। भेलामा युवा सङ्घ पर्साका अध्यक्ष महमद निजाम, यशवन्त यादव, शिवजी ओझैया थारूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here