प्रस, गरूडा, १० पुस/
उखुखेतीको लागि राम्रो माटो मानिएको रौतहटमा बढी उत्पादन हुने नयाँ प्रजातिको उखुखेती शुरू गरिएको छ । गत वर्ष परीक्षणको रूपमा खेती गरिएको नयाँ प्रजातिको उखुले झन्डै दोब्बर उत्पादन दिएपछि खेतीको औपचारिक विस्तार गरिन थालिएको छ ।
रौतहटको कटहरिया नगरपालिका– ९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्टस्ट्रिजले परीक्षणको रूपमा गत वर्ष ६ बिघा खेतमा कोजा ८५ जातको उखुखेती गरेको थियो । कोजा ८५ ले अहिले प्रचलनमा रहेको उखुभन्दा झन्डै दोब्बर उत्पादन दिएकोले किसानहरूलाई यही उखु लगाउन सिफारिश गरिएको उद्योगपति बैजु बाबराले जानकारी गराएका छन् । यसैगरी ४ बिघा खेतमा सिओजिरो २३८ र २३९ प्रजातिको उखुखेती परीक्षण गरिएको र राम्रो प्रतिफल दिएको उद्योगपति बाबराको भनाइ छ । पानी नजम्ने हल्का माटो भएको अग्लो जमीनमा नयाँ प्रजातिको उखुले बढी उत्पादन दिने प्राविधिकहरूको बुझाइ रहेको छ ।
कोजा ८५ प्रजातिको उखु भारतको पञ्जाबबाट ल्याएर परीक्षण खेती गरिएको थियो । रौतहटको माटोमा उखु फस्टाएकोले उत्पादन राम्रो हुने र किसानलाई पनि फाइदा हुने उद्योगको विश्वास रहेको छ ।
कोजा ८५ जातको उखु एक कट्ठा खेतमा ४० देखि ५० क्वीन्टल उत्पादन हुने अपेक्षा गरिएको छ । उखुखेती गरिने खेतको माटो, वर्षा र अन्य अवस्था सामान्य भए किसानले अपेक्षा गरेभन्दा राम्रो आम्दानी हुने देखिएको उखु उत्पादक सङ्घ रौतहटका सल्लाहकार सफिन्द्रप्रसाद यादवले बताए ।
अहिले खेती भइरहेका परम्परागत जातका उखुहरूले प्रतिकट्ठा १५ देखि २५ क्वीन्टलसम्म उत्पादन दिइरहेको छ। उत्पादन लागत धेरै हुने र उत्पादन पनि औसत हुने हुनाले उखुखेतीबाट खासै धेरै फाइदा नहुने गरेको किसानहरू बताउँछन् । नयाँ प्रजातिको उखु खेतमा लगाउँदा उत्पादन लागत पनि कम हुने उद्योगको दाबी रहेको छ।
उखुको बीउ नै निकै कम लाग्ने, उखुको दूरी बढी हुने र लाक्रा ठूलो हुनुका साथै मोटो जातिको उखु हुने हुनाले किसानलाई सबै दृष्टिकोणबाट फाइदा हुने देखिन्छ । उत्पादन लागत कम हुने र उत्पादनमा दोब्बर वृद्धि हुने भएकोले रौतहटका उखु किसान नयाँ प्रजातिको उखुखेतीतर्पm आकर्षित हुने विश्वास उद्योगको रहेको छ ।
रौतहटमा दुईवटा चिनी उद्योग रहेको भएपनि गरूडा नगरपालिकास्थित श्रीराम सुगर मिल्स गत साउनमा सूचना प्रकाशित गरी सदाको लागि बन्द गरिएको छ भने कटहरिया नगरपालिकास्थित बाबा बैजुनाथ सुगर तथा केमिकल इन्डस्ट्रिज भने चालू सिजनको लागि सञ्चालनमा आएको छ । उद्योगपति बाबराको चिनी उद्योग गत दुई आर्थिक वर्षदेखि सञ्चालनमा रहेको र तेस्रो वर्षको क्रसिङ सिजन पनि शुरू भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here