– समीर पाख्रीन

“आयो ! आयो !”
“लौ भाग ! लौ भाग !”
बाटोमा केटाकेटी, बूढाबूढी, जवान, अधबैंसे सबैको भागाभाग थियो । कोही कोही त रोएको, चिच्याएको पनि सुनिन्थ्यो । विकाशले बाहिर बार्दलीमा उभिएर बाटोतिर हे¥यो । नभन्दै उसको नजर यौटा भयभीत पार्ने मानव आकृतिमा केन्द्रित भयो । त्यस आकृतिले पूरै शरीर ढाकिने सेतो कपडा लगाएको थियो । उसको शरीरको कुनै अङ्ग पनि बाहिर देखिंदैन थियो ।
विकाश बार्दलीबाट ओर्लिएर सरासर बाटोमा पुग्यो । विकाशलाई देखेर बन्द झ्याल ढोकाहरू क्रमशः खोलिंदै गए । त्यो आकृति विकाशनेर आएपछि टक्क अडियो र भन्यो– “एक मिटर टाढै बस । नजीक नआऊ ।”
विकाशले राम्ररी नियालेर सोध्यो– “एई १ तँ को होस् ?”
“मेरो नाम हाउगुजी हो ?” उसले ठूलो स्वरमा जवाफ दियो ।
“अनि यो के हुलिया बनाएको ? गाउँँका केटाकेटीहरू सबै डराए,”  विकाशले भन्यो ।
“बच्चा मात्र ? हाहाहा ! के बच्चा, के जवान, के बूढाबूढी सबै मेरो यो हुलिया देखेर त्राहिमाम छन्,” उसले हाँस्दै बढो गर्वका साथ भन्यो ।
“तर, म तँसित डराएको छैन । आखिर तँ को होस् चाँडो भन् । नत्र म तेरो यो पहिरन फुकालेर गाउँँलेहरूको सामुन्ने नाङ्गै बनाइदिन्छु तँलाई,” विकाशले त्यस आकृतिलाई चुनौती दियो ।
अहिले भने आकृति हच्कियो । ऊ केही पछि हट्यो । “अझै बोल्दैनस् तँ ? खोल यो तेरो आवरण,” भन्दै विकाशले आकृतिलाई लछारपछार पार्न थालेपछि गाउँँलेहरू थपिंदै गए । अहिले भने त्यस मानवरूपी आकृतिले आफूले लगाएको बाहिरी कपडा फुकाल्यो ।
कपडा फुकालेपछि गाउँँलेहरू सबै दङ्ग परे । ऊ त्यसै गाउँँको विद्यालयको धिरेन मास्टर थियो । त्यसपछि धिरेनले भन्यो– “दाजुभाइ दिदीबहिनीहरू ! सत्यतथ्य  नबुझी हल्लाको भरमा दौड्दा, भाग्दा व्यर्थमा हाहाकार मच्चियो कि मच्चिएन ? कतिपयलाई त लडेर चोटपटक पनि लागेको होला । आज हामी नेपालीको अवस्था ठीक यस्तै भएको छ । आज हामी हाम्रै चुल्हो चौकामा बस्ने बिरालोलाई बाघ सम्झेर डरारहेका छौं ।”
विकाशले गाउँँलेतिर फर्केर थप्यो–  “सरको भनाइको आशय बुझ्नुभयो कि भएन ?”
“बुझियो, बुझियो छर्लङ्गै बुझियो मास्टर सॉप । अब को हो ? के हो ? कस्तो हो ? तथ्य कुरा नबुझी अरूको लहैलहैमा भाग्ने र डराउने छैनांै हामी । गाउँँलेहरूले मुठी उठाएर एकै स्वरमा भने– “त्यसो भए हाम्रो नाटक सकियो । अब हामी पल्लो गाउँँतिर लाग्छौं,” यति भनी विकाश र धिरेन त्यहाँबाट प्रस्थान गरे ।
निजगढ, बारा, हालः ललितपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here