केपीशर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा भङ्ग गरेपछि यो कदम ठीक हो, ठीक होइन भन्ने दुई धार देखिएको छ। सर्वसाधारण मतदाता मात्रै होइन, मुख्यतः ठूला नेताहरू दोधारमा छन्। हुनत कुनै पनि चीजका दुई पाटा हुन्छन्, सकारात्मक र नकारात्मक। प्रकृतिमा पनि दुई पक्ष छ रात र दिन, अनि काँडा र फूल। जे छ त्यसलाई हेर्ने तरीका पनि व्यक्ति अनुसार फरक हुन सक्छ। गायिका आनी छ्योलिड्ढो गीत जस्तैे ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ कतिपयले त पहिला आफूले दृष्टिकोण बनाउने अनि वस्तुलाई हेर्ने गर्छन्। यथार्थ जेसुकै भएपनि सोबारे पहिले नै फरक सोच बनाएपछि त्यसको व्याख्या र विश्लेषण नै फरक हुन्छ। आँखामा बाक्लो कालो चश्मा लगाएर हेर्नेहरूले संसारै अँध्यारो देख्छ। कतिपयलाई त आफूले लगाउनु पनि पर्दैन अर्कैको गलत चश्मा लगाइदिन्छ, त्यसले दृष्टि भ्रम पारिरहेको उसलाई थाहै हुँदैन। बाजेले पावरवाला चश्मा लगाइदिंदा नातिले मोटरलाई टमाटर देखेको कथा जस्तै। हरियो घाँसको अभाव भएपछि एकजना पशुपालक कृषकले गाईको आँखामा हरियो प्लास्टिकको चश्मा लगाइदिएछ। केही समय त पराल पनि गाईले हरियो देख्यो तर त्यो धेरै समय टिकेन।
    हाम्रो मुलुकमा कुनै पनि कुरालाई आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्नेहरूको जमात ठूलो छ। अर्कोतर्फ आफ्नो नजीकको वा मन परेको मानिसले जे भन्यो त्यही ठीक हो भनेर लिपापोती गर्न अहोरात्र लाग्नेहरूको सङ्ख्या पनि कम छैन। कतिपय त भाडामा वा पारिश्रमिक खाएर सोचविचारको प्रस्फुटन गर्नेहरू पनि छन्। यो प्रवृत्तिकाहरू सबैभन्दा बढी राजनीतिक क्षेत्रमा छन्। बाँकी लेखक, बुद्धिजीवी, सञ्चार क्षेत्र पनि अछूतो छैन। हुनत यो नेपालको मात्रै समस्या होइन। मानव समाजमा संसारभरि जताततै यो प्रवृत्ति छ, कमवेश मात्रै हो। यस्ता प्रवृत्ति हावी हुनु या नहुनुमा नागरिक समाजको चेतना स्तरमा भर पर्छ। अन्य मुलुकको तुलनामा हाम्रो मुलुकका नागरिकको चेतनास्तर उठिनसकेको कारण हामीकहाँ गलत प्रवृत्तिकाहरूको नै बोलवाला छ। गलत प्रवृत्तिले गलत धारणा बनाउने र त्यही धारणालाई वास्तविकता मानेर पछि लाग्नुपर्दा जनताले धोखा खाने अवस्था बारम्बार आइरहेको छ।
    सङ्घीय संसद् विघटनको घटनालाई यथार्थपरक वस्तुवादी ढङ्गले विश्लेषण गर्नेभन्दा पनि ओली आफूनजीक कि प्रचण्ड–माधव आफ्नोनजीक ? त्यो हेरेर नेकपाका नेताहरूले दृष्टिकोण बनाइरहेका छन्। त्यसैगरी, उक्त दलभन्दा बाहिरका राजनीतिक दलहरूले पनि यो घटनालाई कसरी लिंदा आफ्नो दललाई फाइदा हुन्छ वा आफूलाई सजिलो हुन्छ, त्यस आधारमा धारणा बनाइरहेका छन्। एउटै दलभित्र पनि चुनाव जितेर हाल निवर्तमान बनेका नेता र चुनाव हारेर चुनाव पखाईमा बसेका नेताको कुरा फरक आइरहेको छ। अझ गतिलो कुरा त के छ भने निर्वाचन आयोग र सर्वोच्चको संवैधानिक इजलासबाट आउने फैसलापछि संसद् विघटनबारे धेरैजनाको धारणा परिवर्तन हुने निश्चित छ। फैसला सरकारको पक्षमा आए ओली नेतृत्वको नेकपा नै शक्तिशाली बन्ने र विपक्षमा गए प्रचण्ड–माधव शक्तिमा आउने देखिन्छ। यस्ता स्वार्थपूर्ण धारणाभन्दा पनि राष्ट्र, नागरिक र लोकतन्त्रलाई केन्द्रबिन्दुमा राखेर धारणा बनाइनु तथा ठीक हो, होइन खुट्याउनु असल नागरिकको दायित्व हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here