ओमप्रकाश चौधरी, सेढवा, ९ पुस/
पर्साको ग्रामीण भेगमा सडक विस्तारसँगै किसानको उत्पादन बजारसम्म लान सहज भएको छ।
किसानले लगाएको बालीसँगै अहिले सडकको सहजताले धानको परालसमेत बिक्री गर्ने अवसर जुरेकोमा यहाँका किसानहरू खुशी भएका छन्।
पर्साको ग्रामीण भेगमा निर्माणाधीन हुलाकी सडक, पोखरिया–लङ्गडी–भिस्वा सडक, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्डको निर्माणसँगै किसानले उत्पादन गरेका बाली वीरगंज, जीतपुरका साथै देशका विभिन्न ठाउँसम्म पु–याउन सहज भएको छ। यसअघिका दिनमा किसानले उत्पादन गर्ने पराल, गहँुको बाली, रबीबालीका भुस बजारसम्म पु–याउन नसक्दा किसानले खेतमा आगो बालेर मल बनाउने तथा गाईवस्तुको आहार बनाउने काममा प्रयोग गर्दै आएका थिए। गाईवस्तुको आहारभन्दा बढी हुने पराल, छवाली र भुस उनीहरूले बालेर नष्ट गर्दै आएका थिए। तर अहिले यी सबै वस्तुले बजार पाउन थालेको छ। यसको एउटै कारण हो सडक विस्तार हुनु।
धोबिनी गाउँपालिका–३ हरिहरपुरका किसान रामजनमप्रसाद कुर्मीले अहिले पराल, छवाली र भुस बजारसम्म पनि पु–याउन परेको छैन, व्यापारीहरू आफैं खेत खलिहानमा आएर किसानसँग यस्ता उत्पादनपछि निस्केका पराल, छवाली र भुसहरू खरीद गर्छन् र आफ्नो सवारीसाधनबाट गन्तव्यसम्म लैजाने गरेका छन्। घरखेतसम्म व्यापारीहरू यी सामान खरीदका लागि आउन थालेपछि किसानहरूले गाईवस्तुका लागि आवश्यक पराल, छवाली र भुस राखेर बढी उत्पादित यी वस्तुहरू बिक्री गर्न थालेका छन्। विगतमा वस्तुभाव बढी भएकाले तिनीहरूको लागि राख्ने र बढी भएको पराललाई खेतमैं जलाएर नष्ट गर्ने गरेको किसान कुर्मीले बताए। तर अहिले सो पराल बिक्री गरेर आम्दानी बढेको उनको प्रतिक्रिया छ।
जगरनाथपुर गापा– ६ का किसान रामअयोध्या यादवले पराल बेचेर गहँु बालीको लागि खेत जोताइ र रासायनिक मलको खर्च टारेको बताए। व्यापारीहरूले आफ्नो खर्चमा सबै काम गरेर परालको मूल्य दिएर जाँदा आफूहरूलाई हाइसन्चो भएको किसान यादवले बताए।
जीतपुरसिमरा उपमहानगरपालिका–१० का व्यापारी महेश मण्डलले चितवन, काठमाडौंमा माग भए अनुसार पराल, छवाली तथा भुस खरीद गरी पु–याउने गरेको बताए।
परालको चाङ अनुसार मूल्य तोक्ने र खरीद गरेर लाने गरेको व्यापारी मण्डलले बताए। यसरी गाउँघरमा खेर गइरहेको पराल, छवाली र भुस शहरमा पालिने वस्तुहरूको आहारमा प्रयोग हुने उनले बताए। शहरमा विकसित फर्महरूमा यसको माग रहेकोले किसानबाट खरीद गरेर पु–याउँदा आफूलाई पनि मुनाफा हुने गरेको उनले बताए। किसान, फर्म र व्यापारी तीनैजना अहिले विकसित यो व्यापारबाट लाभ उठाइरहेका छन्।