सञ्जय साह मित्र

अहिले पुसको महीना छ। पुसको महीना सबैभन्दा जाडोको महीना मानिन्छ। यस महीनामा सबैभन्दा जाडो हुने सामाजिक मान्यता तथा यथार्थता दुवै हो। पुसको महीनामा सबैभन्दा बढी जाडो हुने र सबैभन्दा बढी प्रभावित हुने अवस्था पनि हुन्छ। यस महीनाको जाडोले बालीबिरुवादेखि वनस्पति र पशुपक्षी पनि प्रभावित हुन्छन् भने मानिसमा सबैभन्दा निम्न वर्ग अत्यधिक प्रभावित हुने देखिन्छ। वास्तवमा जाडो गरीबहरूका लागि सबैभन्दा कठिन हुने सामान्य समय हो। सामान्य समय यस कारण भनिएको हो कि हरेक वर्ष आउँछ र आएर गरीबलाई सताउँछ। सताउने क्रमको निरन्तरता दिन्छ। यसै कारण पनि होला, विपन्न समुदायमा सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ।
जाडोले कठ्याङ्ग्रिएर रौतहटमा एकजनाको मृत्यु भएको खबर सार्वजनिक भइसकेको छ। जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेप्रति सबैको सहानुभूति रहेको पनि पाइन्छ। देशले विकासमा फड्को मार्दै गएको यथार्थ पनि हो। विकासले हरेक दिन नयाँ रूप लिइरहेको छ। देशमा समृद्धि आउन लागेको पनि सम्भावना देखिएको छ। यदि लामो समयको लकडाउन तथा कोरोनाको कहरलाई विचार नगर्ने हो भने देशमा त धेरै राम्रा सूचक अझ आउनुपर्ने हो तर कोरोनाको कहरले देशलाई निकै सताएको यथार्थ हो। कोरोनाले सबैभन्दा बढी प्रभाव पारेको छ भने त्यो निम्न वर्ग नै हो। अझ निमुखा वर्ग भन्दा पनि हुन्छ। जो केही बोल्न सक्दैन र जसलाई लोकतन्त्र वा गणतन्त्रले अहिलेसम्म खासै लाभ दिन सकेको छैन। जसलाई बिहान र बेलुका खान तथा लाउनको समस्या छ। जसलाई राति सुत्नको लागि ओछ्यानमा राम्रो ओढ्नेको व्यवस्था गर्न गा–हो छ। जसलाई जाडोको कठिन दिनमा कस्तो खाना खाँदा शरीरलाई बढी न्यानो प्राप्त हुन्छ भन्ने जानकारीको अभाव छ वा जानकारी भएपनि पु–याउन नसकिने अवस्था रहेको हुन्छ। अझ घरमा बूढा बुबाआमा रहेका वा बिरामी कोही छ भने झन् कठिन हुन्छ। यस प्रकारका मानिसको लागि अहिलेको समय कल्पनाभन्दा पनि कठिन हुन्छ।
गाउँदेहातमा दलित तथा विपन्न वर्गका मानिसले अहिले बिहान र बेलुका आगो तापेर गुजारा गरिरहेका छन्। कतिपयलाई पत्याउन गा–हो होला। जे जति जाडोको समय भएपनि के देखिन्छ भने बिहानको जाडोमा साधारण चप्पल लगाएर क्याम्पस पढ्न विद्यार्थीहरू गइरहेका हुन्छन्। उनीहरूले जीउमा लगाएको कपडाको अवस्था हेर्दा पनि दया लागेर आउँछ। सोध्ने हो भने आफ्नो विवशतालाई पनि लुकाउन खोज्दछन्। विवशतालाई बाहिर ल्याउँदा अभिभावक नै आर्थिकरूपमा कमजोर रहेको वा पु–याउन नसक्ने अवस्थाको रहेको भन्ने जानकारी चुहिन्छ र अभिभावकलाई अनजानमैं कतै नराम्रो पो भन्न पुगिन्छ कि भन्ने ठानेर यस प्रकारका विद्यार्थीहरूलाई लगाउन मन लाग्दैन। खासै जाडो लाग्दैन। यति त सहनु पनि पर्दछ भन्ने जस्ता उत्तर दिन्छन्।
अलिकति शिक्षित वा थोरै भएपनि सचेत वा आर्थिकरूपले दुई छाक टार्न नसक्ने हुँदा क्याम्पसमा आफ्ना छोराछोरीलाई पढाउन सकिंदैन भन्ने कुरा आममानिसले बुझेका छन्। अहिलेको अवस्थामा यति बुझ्नुलाई अन्यथा पनि लिनु नपर्ने देखिन्छ तर क्याम्पस पढ्ने विद्यार्थीका अभिभावक पनि विवश छन् भन्नेतिर हाम्रो ध्यान जान सकेको छैन। साथै आफूलाई पढ्नु छ भन्ने मानसिकता रहेका विद्यार्थीले अभिभावकको धेरै बोझ नबनी सकेसम्म कम बोझ दिएर र अझ कतिपय त विभिन्न पसलमा काम गरेर पनि अध्ययन गरिरहेका छन्। अध्ययन गर्ने अवस्थाका नहुने परिवारको अवस्था दयनीय रहेको छ। यस जाडोले साँच्चिको गरीबलाई निकै समस्यामा पारेको पाइएको छ। हुनत गरीब समुदायको समस्यालाई देखेर कपितयले आफ्नो व्यक्तिगत लगानीमा न्यानो कपडा वितरण गरिरहेका पनि छन्। व्यक्तिगत लगानीमा मानिसलाई सहयोग गर्न नसकिने भने होइन। अवश्य नै सहयोग गर्न सकिन्छ।
समाजका अति विपन्न र अत्यन्त पछाडि परेको समुदायको समस्या सबैले बुझ्न सकेका हुँदैनन्। कतिपयले बुझेर पनि सहयोग गर्न सक्ने अवस्था हुँदैन। कतिपय अवस्थामा विपन्न वर्गको समस्या सहयोग गर्न सक्ने वर्ग वा व्यक्ति वा संस्थासम्म पुग्न सकेको हुँदैन। यसले गर्दा पनि एकातिर समस्या बढिरहेको हुन्छ भने अर्कोतिर समवेदना रहे पनि सहयोगको लागि कहिले र कहाँ पुग्नुपर्ने हो, त्यो थाहा भइरहेको हुँदैन। अहिलेको अवस्थामा केही हदसम्म यो कुरा पनि जिम्मेवार रहेको छ कि सहयोग लिन चाहनेहरू पनि गैरजिम्मेवार भइरहेका छन्। कतैबाट सहयोग आउँदा लिनुपर्नेले त लिन्छन् नै वा लिनु पनि पर्छ तर लिनुपर्ने आवश्यकता नभएकाले पनि लिन्छन्। यसले गर्दा जसले दिन खोजेका हुन्छन्, उनको खर्च बढ्ने हुन्छ र दिएको सहयोगको पनि सदुपयोग भएको हुँदैन। सहयोगको औचित्यमाथि पनि कतिपय ठाउँमा प्रश्न उठ्न थाल्दछ। फेरि सहयोग मात्र गर्दा सहयोगकै भरमा मानिस काम नगरेर बस्ने डर पनि हुन्छ भन्ने तर्क पनि आउन थालेको छ तर कोही काम गर्नुपर्छ भनेर काम गर्ने डरले भोकले मर्दैन। कसैले सहयोग नगर्दा म जाडोमा कठ्याङ्ग्रिएर मर्छु भन्ने कामना वा कल्पना पनि कसैले गर्दैन। हरेक वर्ष जाडोले कठ्याङ्ग्रिएर केही मानिसको मृत्यु हुने गरेको छ। जाडोले कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुने अवस्था हुनु दयावान् मानिसहरूको लागि चिन्ताको विषय हुने गर्दछ, धर्मशील समाजको लागि अझ संवेदनशील विषय हुनुपर्दछ।
हाम्रो समाज अत्यन्त धार्मिक रहेको छ। अत्यन्त धार्मिक समाज भन्नुको तात्पर्य यहाँ यो रहेको छ कि यहाँ जुनसुकै धार्मिक चाडपर्व वा क्रियाकलापमा मानिसको धेरै सहभागिता हुने, शुभकामना आदानप्रदान पनि धेरै हुने तथा धार्मिक कामकाजमा धेरै खर्च हुने गर्दछ। जहाँ धर्मको नाममा मानिसले धेरै रुपैयाँ खर्च गर्दछन् र जुन समाजमा धार्मिक मानिस धेरै छन्, त्यही समाजमा मानिसको मूल्य कम हुनुहुँदैन। हाम्रो धर्मले मानिसको सेवा वा मानव सेवालाई ठूलो धर्म मानेको छ। यस कारण मानिसले माटो वा ढुङ्गाको मूर्तिलाई देवता वा भगवान् मानेर पूजा गर्दछन्, आस्था राख्दछन् र मानिसरूपी देवतालाई तिरस्कार गर्दछन् भन्ने संस्कृति हाम्रो होइन। हामी ढुङ्गालाई पनि देवता मान्ने र मानिसलाई पनि देवता मान्ने संस्कार तथा संस्कृतिका हौं र अहिले जाडोको समयमा विपन्न देवताहरू कठ्याङ्ग्रिइरहेका छन्। अनाथ देवताहरू जाडोले दाँत कटकटाइरहेका छन्। एउटा गलबन्दी नलगाइ र एकजोर जुत्ता नलगाइ कतिपय देवताहरू शिक्षाको उज्यालोको खोजीमा बिहानको कुहिरोलाई छल्दै क्याम्पस पुगिरहेका छन्। अत्यन्त विपन्न र दलित समुदायका शुद्धबुद्ध लालाबालाहरू जसरी कठ्याङ्ग्रिदो जाडोमा सडकछेउमा खेलिरहेका हुन्छन्, त्यसले एक किसिमको दयाभाव मनमा जगाउँछ। हो, यस प्रकारका अत्यन्त कमजोर मानिसलाई अहिले सहयोगको आवश्यकता रहेको छ।
धेरै मनकारी व्यक्तिलाई पनि कोरोनाको समयमा नराम्ररी प्रभाव पारेको यथार्थ भएपनि सम्भव भएसम्म सहयोगी हातहरू भने यस प्रकारको सहयोगको आवश्यकता भएका मानिसका लागि उठ्नुपरेको छ। असहाय र विपन्न समुदायका लागि कठिन दिन भनेको जाडो नै हो। मुखमा माड लगाउने जोहो त जसोतसो विपन्न समुदायले गरिरहेका छन् वा गर्न पाइरहेका छन् तर न्यानो कपडाको जोहो गर्न समस्या परिरहेको अवस्थाका मानिसलाई मानवताको नाताले सहयोग गर्नुपर्ने समय आएको छ। सहयोग गर्ने मुट्ठीमा लकडाउन वा कोरोना कहरको ताल्चा लागेको छ भने पनि खुलोस्। जाडोले कठ्याङ्ग्रिएर कोही मर्नु नपरोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here