प्रस, वीरगंज, ७ पुस/
खुला सीमाबारे मङ्गलवार ह्युमन राइट्स जर्नालिस्ट एशोसिएशनले पर्सा, बारा र भारतीय नागरिकहरूसँग भर्चुअल संवाद गरेको छ।
लकडाउनसँगै नेपाल–भारत खुला सीमा सिल गरिएको र पछिल्लो समयमा भारतले एकतर्फीरूपमा आफ्नो सीमा खुला गर्दा पनि नेपालले सीमा खुला नगर्दा देखिएका समस्याबारेमा भर्चुअल संवादमा दुवैतर्फका सहभागीहरूले आआफ्नो कुरा राखेका थिए।
नेपालतर्फबाट सहभागी ठाकुर राम बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक वीरेन्द्रप्रसाद साहले कोरोना सङ्क्रमणमा खुला सीमा बन्द गरिएको कारण नेपालको वीरगंज क्षेत्र कोरोना हटस्पट हुनबाट जोगिएको तर्क गरे। उनले भारतबाट आउनेहरूले कोरोना सङ्क्रमण फैलाउन सक्ने सम्भावना सीमा बन्दको कारण टरेको बताए।
वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार बैदले भारतीय सवारीसाधनको अभावमा वीरगंजवासीले महँगो दरमा भाडाका सवारीसाधन प्रयोग गर्नुपरेको बताए। उनले सीमा खुला गर्दा व्यापार सहज हुनुका साथै सवारीसाधनहरूको प्रयोगमा पनि सुविधा हुने तर्क गरे।
प्रहरी उपरीक्षक गङ्गा पन्तले खुला सीमाको कारण नेपालबाट गाँजा, चरेस र भारतबाट प्रतिबन्धित नशालु औषधिहरू भित्रिने गरेको र यसबाट दुवैतर्फका मानिसलाई समस्या हुने गरेको भन्दै सोतर्फ सबैले ध्यान पु–याउनुपर्ने सुझाव दिइन्।
भारत, रक्सौलका प्राध्यापक अनिल सिन्हाले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध रहेको र लामो समयसम्म खुला सीमा बन्द हुँदा वैवाहिक तथा सामाजिक कार्य प्रभावित भएको बताए। उनले भारत र नेपालका नागरिकबीच वैवाहिक सिजनमा हजारौं विवाह हुने गरेको र सो कार्य सीमा सिल हुँदा प्रभावित भएको बताए। भारतले आफ्नो सीमा खुला गरेको लामो समयसम्म नेपालले सीमा बन्द गर्दा दुवै देशका नागरिकले सामाजिक कार्यमा समस्या झेल्नुपरेको उनको भनाइ थियो।
भर्चुअल संवाद कार्यक्रममा नेपालतर्फबाट पूर्वप्रधानन्यायाधीश कल्याणबहादुर श्रेष्ठ, परराष्ट्रविद् भेषबहादुर थापा, पत्रकार अखिलेश उपाध्याय, नगरप्रमुख विजयकुमार सरावगी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, बाराका पत्रकार लक्ष्मी साह, पर्साका पत्रकारहरू सुषमा शर्मा, तिवारी यादव, जियालाल साह, माधुरी महतो, आरके पटेललगायत सहभागी थिए भने भारत रक्सौलबाट उपेन्द्र तिवारी, महेश अग्रवाल, दीपक अग्निरथ, विजय गिरी, अरुण गुप्ता, विपिन कुशवाहा, राजेश केसरीवाललगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here