प्रस, वीरगंज, ७ पुस/
वीरगंज महानगरपालिका–३ मा रहेको पुरानो कर्बिस्तानको लागि महानगरपालिकाले सडकको व्यवस्था गरेको छ। सो वडामा दुईवटा पुरानो कर्बिस्थान रहेको र एउटा बाटोसँग जोडिएको र अर्कोमा बाटो नभएको कारण महानगरपालिकाले साढे २२ लाख खर्चेर ५ धुर जग्गा खरीद गरी बाटोको व्यवस्था गरेको वडाध्यक्ष बैजु स्वर्णकारले बताए। मुस्लिम समुदायको अन्तिम संस्कार गरिने दुईवटा कर्बिस्तानमध्ये एउटा सानो भएको र अर्को १८ कट्ठा जग्गा ओगटेको ठूलो कर्बिस्तानसम्म पुग्न बाटो नभएकोमा समस्या हुँदै आएको थियो।
नगरप्रमुख विजयकुमार सरावगीले कर्बिस्तानका संधियार विशाल श्रेष्ठसँग ५ धुर जग्गा खरीद गरी बाटोको व्यवस्था गरेका हुन्। बाटोको व्यवस्था भएपछि मुस्लिम समुदायलाई अन्तिम संस्कार गर्न सहज हुने वडाध्यक्ष स्वर्णकारले बताए।