जीतलाल श्रेष्ठ, निजगढ, ७ पुस/
प्रदेश नं २ को कृषि तथा पशुपक्षी मन्त्रालयकी सचिव सम्झना काफ्ले मङ्गलवार निजगढ आएकी छन्।
विश्व खाद्य दिवसको अवसरमा प्रदेशभरिको ८ जिल्लाका ८ जना उत्कृष्ट कृषकको छनोटमा निजगढ नपा–९ का केरा उत्पादक कृषक हीरा थापामगर परेसँगै उनको कृषिबालीको निरीक्षण गर्न सचिव काफ्ले आएकी हुन्।
कृषक थापाले उत्पादन गर्दै आएका केराबाली, उखुबाली र अन्य बालीको समेत उनले निरीक्षण गरेकी छन्। उनले आधुनिक कृषि क्षेत्रलाई अघि बढाउन सङ्घीय, प्रदेश र स्थानीय तहले कृषि आधुनिकीकरणलाई विशेष जोड दिइरहेको बताइन्। “परम्परागत कृषि पेशाले मुलुक कृषिमा आत्मनिर्भर हुन सक्दैन। हाम्रो देश कृषि क्षेत्रबाट नै समुन्नत र आर्थिक समृद्धि हुन्छ। त्यसैले तीनै तहका सरकारले कृषिबालीलाई र कृषकहरूको हौसला बढाउन प्रतिबद्ध छ,” सचिव काफ्लेले भनिन्।
निजगढ केरा एग्रिकल्चर फर्म दर्ता गरेर कृषक थापाले १२ बिघामा केरा उत्पादन, २ बिघामा उखु उत्पादन र २ बिघामा तोरी, मुसुरो, मकैलगायतका बाली लगाउँदै आइरहेका छन्। स्थानीय कृषकहरूले किसानलाई समयमा मल, बीउबिजनलगायतका आवश्यक सामग्री उपलब्ध हुन नसकेको गुनासो राखेका थिए।
निरीक्षण टोलीमा कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्रप्रसाद यादव, निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, अगुवा केरा उत्पादक कृषक एवं निजगढ केरा ब्लकका अध्यक्ष गोविन्द खरेललगायतको सहभागिता थियो।
प्रदेश सरकारले आफूलाई छनोट गरेकोमा आफू अझै यस पेशामा उत्साही भएको युवा कृषक थापाले बताए। वैदेशिक रोजगारका लागि भारत, मलेसियालगायतका देशमा झन्डै १५ वर्ष बिताए पनि खासै उपलब्धि नभएको तर केही वर्षमैं कृषि पेशाबाट आफू उत्साही भएको उनले बताए।