प्रस, पंचगावाँ, ६ पुस/
चीसो बढेसँगै पर्साको ग्रामीण क्षेत्रमा बालबालिका र ज्येष्ठ नागरिकका साथै गरीब, विपन्न, दलित परिवारमा समस्या बढ्दैछ।
खासगरी गरीब, विपन्न, दलित परिवारलाई चीसोले समस्यामा पार्दैछ। व्यवस्थित बास नभएको र चीसोसँग जुध्ने लत्ताकपडा, सिरक, डसना नभएकोले चीसोले उनीहरूको अवस्था दयनीय भएको छ।
स्थानीय पालिकाहरूले आआफ्नो क्ष्Fेत्रका गरीब, विपन्न, दलितहरूलाई लक्षित गरेर चीसोसँग जोगिने कार्यक्रमहरू अघि सारेका छैनन्। जसले गर्दा एक सातादेखि बढेको चीसोले उनीहरूलाई समस्या गरेको छ।
पटेर्वासुगौली गापाका लालबाबू रामले आफ्नो समुदाय आर्थिकरूपमा विपन्न भएकोले चीसो बढेसँगै समस्यासँग जुध्नुपरेको बताए। उनले स्थानीय पालिकाले अरू केही नभए पनि आगो ताप्नको लागि दाउरा उपलब्ध गराइदिनुपर्ने बताए। सखुवाप्रसौनी गापा–१ मधुवन मथवलका जिरजोधन उरावले सङ्घ र प्रदेश सरकारबाट आउने बजेट गरीबसम्म नपुगेको बताए। उनले सो बजेटमा पालिकाका जनप्रतिनिधिहरूको रजाइँ रहेको र आफूखुशी काम गर्ने हुनाले विपद्विरुद्धको तयारीमा पालिका उदासीन भएको आरोप लगाए।
जिल्ला व्यवस्थापन समितिका सल्लाहकार एवं जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारीले ज्येष्ठ नागरिक र विपन्नहरूको विवरण स्थानीय पालिकासँग माग गरिएको र सो प्राप्त भएपछि एक साताभित्र कम्बल, दाउरा वितरण गरिने बताए। विवरणको अभावमा सो कार्य रोकिएको उनको स्पष्टोरोक्ति छ।