प्रस, गरुडा, ५ पुस/
पुसको कठ्याङ्ग्रिदो जाडोले असहाय र विपन्न समुदायलाई समस्यामा पार्दै लगेपछि न्यानो कपडा वितरण गर्न थालिएको छ। विभिन्न सहृदयी व्यक्तिहरूले असहाय र विपन्न समुदायलाई न्यानो कपडा प्रदान गर्न थालेका हुन्।
रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयका अनाथ बालबालिकालाई जाडोबाट बचाउन चन्द्रपुर नगरपालिका–५ का निरञ्जन भण्डारी र साइन भण्डारीले दश थान सिरक सहयोग हस्तान्तरण गरेका छन्। अनाथालयमा रहेका ३२ बालबालिकालाई राति ओछ्यानमा सुत्ने सिरकको समस्या भएको देखेर भण्डारी दम्पतीले न्यानो कपडा सहयोग गरेका हुन्।
सिरक प्राप्त भएपछि धन्यवाद दिंदै अनाथालयका प्रशासकीय प्रमुख हृदयनारायण कश्यपले अनाथालयका बालबालिकाले कठ्याङ्ग्रिदो जाडोबाट जोगिने विश्वास व्यक्त गरेका छन्। अनाथालयमा बिहान र बेलुका आगो ताप्ने दाउराको अभाव भएको पनि कश्यपले जानकारी गराउँदै सहयोगको लागि आग्रह गरेका छन्।
यसैबीच, गरुडा नगरपालिका–४ मा अनामिका अस्पताल सञ्चालन गरेका डा आरबी प्रसादले अनाथालयका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन्। डा प्रसादले एक सय किलो चामल, दश किलो दाल, दश लिटर खानेतेल सहयोग गरेका छन्।
यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–५ नहरटोलका ५१ महिलालाई चौबन्दी चोलो प्रदान गरिएको छ। जाडोको समय शुरू भइसकेको र विपन्न समुदायका महिलालाई न्यानो कपडाको आवश्यकता रहेको अनुभव गरी स्थानीय कल्याण रावतले न्यानो कपडा सहयोग गरेका हुन्। आर्थिक समस्याका कारण नहरको डिलमा घर बनाएर बसिरहेका परिवारका महिला सदस्यहरूलाई न्यानो कपडा प्रदान गर्दै जसपा नेता कन्थमणिप्रसाद जयसवालले गरीब र दुःखीलाई सकेसम्म सहयोग गर्नु आफ्नो दायित्व भएको बताएका छन्।
यसैगरी, इलाका प्रहरी कार्यालय गरुडाको न्यायिक हिरासतमा रहेका थुनुवाहरूलाई जाडोबाट बचाउन न्यानो कम्बल प्रदान गरिएको छ। रौतहटको यमुनामाई गाउँपालिका–१ का अध्यक्ष नन्दलालप्रसाद यादवले थुनुवाहरूका निम्ति कम्बल प्रदान गरेका हुन्। वडाध्यक्ष यादवले इप्रका गरुडाका प्रमुख प्रनाउ रवि रावललाई थुनुवाहरूको लागि आवश्यक कम्बल सहयोग हस्तान्तरण गरेका हुन्।
प्रदेश २ मा जाडो बढ्दै गए पनि विपन्न समुदायलाई सहयोग गर्न स्थानीय तह अगाडि आउन सकेको छैन। केही मनकारी व्यक्तिले असहाय तथा विपन्न समुदायलाई निजी सहयोग गर्न शुरू गरेका छन्। असहाय तथा विपन्न समुदायलाई जाडोबाट बचाउन निजी क्षेत्रको सहयोग पनि प्रशंसनीय हुने गरेको बुद्धिजीवीहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here