राधेश्याम पटेल/नरेश यादव, पर्सागढी, ४ पुस/
पर्सागढी नेपालकै गर्व गर्ने ठाउँ भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंज तथा पर्सागढी नगरपालिकाको संयुक्त आयोजनामा पर्सागढी प्रवद्र्धन एवं प्रचार हेतु अवलोकन भ्रमण कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
पर्सागढी नपा वडा नं ६ जिङ्गनामा पर्ने पर्सागढी स्तम्भ तथा पर्सागढीवासीको कुलदेवता बन्हर बाबाको मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा उनले पर्सागढीको संरक्षण तथा प्रवद्र्धनको विषयमा सक्दो सहयोग गर्ने आश्वासन दिए।
१८७१ पुस १९ गते बागवान्नाका स्थानीय बासिन्दा रञ्जीत चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिश कमान्डर बेनेट मार्ली नेतृत्वको अङ्ग्रेज सेनालाई पराजित गरी धपाएको ठाउँ भएकोले सोको विकास पनि सोही अनुरूपको गर्दै जानुपर्नेमा उनको जोड थियो। उनले नेपालका अन्य गढी जस्तै पर्सागढीको विशेषता महत्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले विचार पु–याउनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पर्सागढीका प्रमुख लोकनाराययण यादवले पर्सागढी हरपुर, जिङ्गना, पचरुखी, बागेश्वरी तित्रौना र बागवान्ना गरी पाँचवटा गाउँको धरोहर भएको बताए। उनले विसं १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सिमानामा आएर विश्राम गरी पहिलो जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जीत चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिंघाई खोलामा बाँध बाँधिएको चर्चा गर्दै साँझको समयमा सयौंको सङ्ख्यामा राँगा, गोरु, गाई, भैंसीको सिंहमा मसाल बाँधेर दुवै खोलामा तैराउँदा रातिको समय भएकोले अङ्ग्रेजी बटालियनले हजारौं नेपाली सेना आउँदै छन् भनी डराएर भागेको किंवदन्ती सुनाए। त्यसपछि ब्रिटिश सेनाले गोरुहरूमाथि आक्रमण गरी आफ्नो हतियार सिद्धाए।
ब्रिटिश सेनाको हतियार तथा गोलीगठ्ठा समाप्त पारेको, त्यसपछि गोर्खाली सेना र गाउँले मिलेर स्थानीय हातहतियारले ब्रिटिश सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आगामी पुस १९ गते पर्सागढीमा विजयोत्सव मनाउने नगरपालिकाले निर्णय गरेको उनले जानकारी गराए।
पर्सागढीकी उपप्रमुख अर्चना चौधरीले पर्सागढीको इतिहाससँग जोडिएका वस्तु, प्रमाण तथा हातहतियार सङ्कलन गरी सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइन्। उनले विजय स्तम्भ तथा धर्मशालाको काम यसै वर्ष शुरू हुने जानकारी गराइन्।
चण्डीप्रसाद गण श्रीपुरका गणपति प्रमुख सेनानी मदनजङ्ग राणाले नेपालमा भएका गढीहरूको संरक्षण र प्रवद्र्धनको काममा नेपाली सेनाले सघाउने नेपाल सरकारको नीति अनुसार आफ्नो तवरबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाए।
पत्रकार नीरज पिठाकोटेको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत सालिकराम ढकाल, पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष बृजमोहन चौधरी, वडाध्यक्षहरू तुलाराम महतो, वेदमन दास थारू, असलम आलम, किशुनदेव थारू, होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, पर्यटन पत्रकार सङ्घका अध्यक्ष शङ्कर आचार्यले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here