प्रस, निजगढ, २ पुस/
निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा बिहीवार आधा घण्टा तालाबन्दी गरिएको थियो।
नगरपालिकाबाट पारित भएका ऐन, कानून, कार्यविधि तथा कार्यपालिकाको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्दै पटक–पटक मनोमानी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै तालाबन्दी गरिएको बताइएको छ। सो तालाबन्दी निजगढ नपाकी उपप्रमुख लीलादेवी लामिछानेसहित जनप्रतिनिधिहरूले गरेका हुन्। पछिल्लो समय नगरप्रमुखबाट प्रमुखस्तरीय निर्णय भन्दै बहुमत पक्षका उपप्रमुख, वडाध्यक्षसहितका नगर कार्यसमितिका सदस्य, जनप्रतिनिधिहरूलाई बेवास्ता गर्दै मनोमानी ढङ्गले निर्णय गर्दै नगरप्रमुख खनाल अघि बढिरहेको उनीहरूको आरोप छ।
त्यसरी गरिएका निर्णयलाई खारेज गर्दै छलफल, समन्वय, सहमतिबाट जान पटक–पटक आफूहरूले सुझाव दिए पनि अटेर गर्दै आएकोले तालाबन्दी गरी नगरप्रमुखलाई दबाब दिन आफूहरू बाध्य भएको उपप्रमुख लामिछानेले बताइन्।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत पदमा निजामती कर्मचारी रहने हुँदा उसले सबैलाई समेटेर अघि बढ्न नगरप्रमुखलाई राय, सल्लाह, सुझाव तथा कानूनी मार्ग प्रशस्त गर्नुपर्ने भएपनि त्यस्ता कार्य नभएकोले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पनि तालाबन्दी गर्न आफूहरू बाध्य भएको उपप्रमुख लामिछानेले बताइन्।
“यो तालाबन्दी साङ्केतिक मात्रै हो। नगरपालिकाबाट गरिने कार्यमा कसैलाई विभेद, बाइपास गरेर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अघि बढे हामी सशक्तरूपमा प्रतिकारको लागि अगाडि आउँछौं,” उपप्रमुख लामिछानेले जोड दिइन्।
नगरपालिकाबाट हुने जुनसुकै कार्यमा छलफल, समन्वय, सहमतिबाट निस्किएका निर्णयमार्फत आफू अघि बढेको नगरप्रमुख खनालले स्पष्ट पारे। काम गर्ने सिलसिलामा कार्य व्यस्ततालगायत अन्य कारणले केही कामको लागि छलफल, समन्वय हुन नसके पनि आफूले नियम, प्रक्रिया, कार्यविधिलाई मिचेर कहिल्यै अघि नबढेको नगरप्रमुख खनालले प्रतिक्रिया दिए। त्यसैगरी, आफू कानूनी विधि, प्रक्रियामा रही काम गर्दै आएको र आफूले पदीय जिम्मेवारीविपरीत कसैलाई गलत सल्लाह, सुझाव नदिएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए। तालाबन्दी गर्दा नगरप्रमुख खनाल कार्यकक्षमैं थिए भने प्रमुख प्रशासकीय अधिकृत कार्की भने कार्यालय आइपुगेका थिएनन्।
राजनीतिक दलभन्दा माथि उठेर एकजुट भई बाँकी समयावधिमा विकासका कार्यलाई तीव्रता दिनुपर्नेतर्फ ध्यान केन्द्रित गर्न सबै जनप्रतिनिधिलाई नगरका बुद्धिजीवीले सुझाव दिएका छन्।