प्रस, वीरगंज, २ पुस/
वीरगंजमा प्रदेश नं २ मैं सबैभन्दा बढी लगानीको रिसोर्ट सञ्चालनमा आएको छ।
वीरगंज महानगर–१४ गण्डक बहुअरीमा मङ्सिर १५ गतेदेखि क्लार्क रिसोर्ट सञ्चालनमा आएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
रिसोर्टका सञ्चालक सुनील खेतानले दुई बिघा क्षेत्रफलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको रु १ सय करोड लागतमा रिसोर्टको निर्माण भइरहेको बताए। खेतानले जग्गाबाहेक भौतिक संरचनामा मात्र रु १ सय करोड लगानी भएको पत्रकार सम्मेलनमा जानकारी गराए। उनले पहिलो चरणमा सभाहल, रेस्टुरेन्ट मङ्सिर १५ गतेदेखि सञ्चालनमा आएको र ६० कोठाको सुविधासम्पन्न रिसोर्ट आगामी दीपावलीदेखि पूर्णरूपमा सञ्चालनमा आउने बताए।
क्लार्क रिसोर्टका जेनेरल मैनेजर राजेश रञ्जनले भारतमा ४२ वटा शाखा सञ्चालनमा आएको र नेपालमा पहिलो शाखा भएको बताए। रिसोर्टमा फिटनेश, जिम, हेल्थ क्लब, साउना र स्टिम कोठा, खेलकूद, स्वीमिङ र बाल कक्ष्Fका साथै क्यासिनो पनि सञ्चालन हुने उनले बताए।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले आन्तरिक तथा बाह्य पर्यटकलाई रिसोर्टले आकर्षित गर्न सक्ने बताए। कार्यक्रमको सहजीकरण पत्रकार महेश दासले गरेका थिए।