प्रस, वीरगंज, २ पुस/
नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले बिहीवार २१औं दिन सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिएको छ।
समूहका संयोजक कृष्ण पटेलको नेतृत्वमा ओमप्रकाश सर्राफ, रम्भा मिश्र, उषा श्रीवास्तव, मालती कुशवाहा, मुनि श्रीवास्तव, शेख मुन्ना, प्रतिमा जोशीलगायतले एक घण्टा धर्ना दिए।
सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए। उनले सरकारले पुस १ गतेदेखि सिल सीमा खुला गर्ने भनेको तर मातहतका कार्यालयलाई निर्देशन नदिए पनि मुख्य नाका भएर पुस १ गतेदेखि साइकल, मोटरसाइकल र पैदल यात्रीहरू भने आवतजावत गरिरहेका बताए। उनले दुई चक्के सवारीसाधनबाहेक अन्य निजी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको बताए।
यसबारेमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले गृहबाट पत्र आइनसकेको कारण सिल सीमा खुला नगरिएको बताएको संयोजक पटेलले बताए।