प्रस, मकवानपुर, १ पुस/
हेटौंडा–नारायणगढ सडकखण्डमा सडक दुर्घटनामा परी १२ घण्टाको अवधिमा दुईजनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन्।
मङ्गलवार राति लोथरनजीक रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भयो। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको प्रहरीले जनाएको छ। राति १०ः३० बजेको समयमा सडकमा रोकिराखेको ना.८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल ठोक्किंदा गम्भीर घाइते उप्रेतीको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन्।
यसैगरी, मङ्गलवार राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँँपालिका वडा नं ५ का २१ वर्षीय रमेश भोलन र सोही स्थान निवासी २३ वर्षीय अनुभव मोक्तान रहेको प्रहरीले जनाएको छ। भीमफेदी गाउँँपालिका वडा नं ६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा.३ख ६९२७ नंको टिपर सडकबाट करीब ३० मिटर तल खसेर दुर्घटना हुँदा सो टिपरमा सवार तीनजना मजदूर घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइतेमध्ये मोक्तानको अवस्था  गम्भीर छ। घाइतेहरूको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here