प्रस, सिराहा, १ पुस/
गुणस्तरहीन सामान उत्पादन गरी बिक्री गरेको अभियोगमा सिराहाका तीनवटा उद्योगमाथि मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले उक्त उद्योगमाथि मुद्दा चलाएको हो।
कार्यालयले अनुगमनको क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका खाद्य सामग्री उत्पादन तथा बिक्री गरेको पाइएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लहान नगरपालिका वडा नं ३ मा सञ्चालित केबी एन्ड सन्स नेपाल, स्टार चिप्स उद्योग र चोहर्वास्थित महावीर फूड प्रोडक्टविरुद्ध मुद्दा चलाएको हो। तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अनुसार जिल्ला प्रशासन कार्यालय सिराहामा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिएका छन्।
सो कार्यालयले बजार अनुगमनलाई पनि तीव्रता दिएको छ। बजारमा कालोबजारी बढेको जनगुनासो आएपछि खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरू गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा रहेको अनुगमन टोलीले जिल्ला सदरमुकाम सिराहा, लहान बजार, मिर्चैया, गोलबजारलगायतका क्षेत्रमा अनुगमन शुरू गरेको छ। सो क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिएका छन्।
टोलीले अनुगमन गर्दा पसलले खरीद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको सामानहरूको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, सेनिटाइजर, पञ्जालगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए।
पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको र पुनः गलती दोहो–याएमा कानून अनुसार हदैसम्मको कारबाई गरिने कार्यालय प्रमुख सिंहले चेतावनी दिएका छन्।