२६ गते प्रतीकमा श्रीमन्नारायणको लेख ‘सत्ताधारी नेकपा र भारुण्ड पक्षीको कथा’ रोचक लेख लाग्यो। दुई टाउको भएको नेकपामा यो लेख सटीक अर्थ राख्छ। नेकपाले निर्वाचनमा दुई तिहाइको अमृतफल पाएको थियो। तर त्यसको स्वाद प्रचण्डलाई मरिगए चाख्न दिइएन।
कथामा अर्को मुखले विषफल पायो र त्यो खाएर बदला लिएको थियो। लेखको प्रसङ्गमा त्यो विषफल के हो ? त्यो विषफल यदि राजावादीको सडक प्रदर्शनलाई भनौं भने त्यसलाई प्रचण्डले होइन, ओलीले नै खाने सम्भावना देखिंदैछ। अतः भारुण्डको जुन मुखले अमृतफल खायो त्यही मुखले विषफल पनि खाने देखिन्छ। प्रचण्ड परिवर्तनका संवाहक हुन् र ओली त्यसका अवरोधक। मृत्यु त खैर हुन्छ नै भारुण्ड–नेकपाको, तर एउटै मुखले गर्दा।
एउटा पक्षी हुन्छ, फिनिक्स। त्यो आफ्नै खरानीबाट पुनः जीवित हुन्छ। यदि प्रचण्ड नेकपाबाट अलग भएर फिनिक्स बन्न चाहे भने उनी त्यही खरानीबाट पुनः जीवित हुन सक्छन्। अन्यथा जनता त सडकमा राजाको रजाइँ हेर्न बाध्य भइ नै सकेको छ गद्दीको रजाइँ पनि हेर्न बाध्य हुनेछ।
–डा. शिवशङ्कर यादव
छपकैया, वीरगंज