प्रस, वीरगंज, २६ मङ्सिर/
वीरगंज महानगरपालिका–४ होटल मकालुअगाडि सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा लिएर कारबाई अगाडि बढाएको घटनामा अहिले एकजना अभियुक्त छुटेपछि प्रहरी र जिल्ला न्यायाधिवक्ताको कार्यालय आरोपको घेरामा परेका छन् ।
बिहीवार जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जग्गा सम्बन्धमा सातजनालाई पक्राउ गरेको र १७ जनामाथि मुद्दा चलाउन आरोपपत्र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाएको दाबी छ । प्रहरीले पठाएको १७ जनाको सूचीमा पक्राउ परेका सातजनामा भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख सुमन झा, नासु श्रीनारायणप्रसाद साह, लेखनदासद्वय प्रमेश र अमरसाह कानु, व्यवसायी गिरधारीलाल अग्रवाल, विश्वास द्विवेदी र किर्ते गर्ने मुख्य अभियुक्त केवलप्रताप राणा थिए । यीमध्ये गिरधारीलाल अग्रवाललाई बिहीवार रिहा गरिएको छ । जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीले प्रहरी प्रतिवेदनमा अग्रवाललाई कारबाईको दायरामा नराखिएकोले आफूले निजको मुद्दा मुलतवी रहने गरी तत्काल रिहाको आदेश गरेको बताए । तर जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखाका प्रहरी निरीक्षक कुशल बर्ताैलाले प्रहरीले अनुसन्धान पूरा गरी सातैजनामाथि अभियोगसहितको पत्र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाएको र त्यहाँबाट हिरासत मुक्त गरिएको बताए । अग्रवाललाई हिरासत मुक्त गर्न ठूलो आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।
प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोले सुम्पिएको यो मुद्दामा दसीप्रमाण जोडेर गिरधारीलाल अग्रवाललाई मङ्सिर १८ गते पक्राउ गरेको थियो । अग्रवाल रिहा भएको विषयमा अहिले प्रहरी र न्यायाधिवक्ताको कार्यालयबीच आरोप–प्रत्यारोप चल्नुले पनि यो घटनामा आर्थिक चलखेल भएकोतर्पm सङ्केत गर्छ ।
सामान्यतया प्रहरीले दायर गरेको मुद्दामा न्यायाधिवक्ताले बयान लिएर अदालतमा पेश गर्ने र अदालतले सो सम्बन्धमा निर्णय  गर्दै आएको छ । कसूर नदेखिएको मुद्दामा न्यायाधिवक्ताले मुद्दा नचल्ने गरी अभियुक्तलाई रिहा गर्छ । यो मुद्दामा विवाद आउने देखेर तत्काल मुलतवीमा राख्ने निर्णय भएको छ ।
अन्यलाई अदालतमा हाजीर गराइएन
जिल्ला प्रहरी कार्यालय पर्साले सातजना अभियुक्तविरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अभियोगपत्र पठाएकोमा एकजना अग्रवाललाई रिहा गर्ने न्यायाधिवक्ता कार्कीले निर्णय गरेको आक्रोशमा शुक्रवार ६ जना अभियुक्तलाई न्यायाधिवक्ताको कार्यालयमा हाजीर नै गराएन ।
आज न्यायाधिवक्ताको कार्यालयमा हाजीर गराउने र अदालतमा उनीहरूको बयान लिने सूची थियो । तर यसअघि अदालती काममा फुर्ती देखाउँदै सातजनाविरुद्ध अभियोग एक सातामा तयार गरेको पर्सा प्रहरीले न्यायाधिवक्तासँगको रिस ६ जना अभियुक्तमा झारेको छ । उनीहरूको अदालतमा बयान अब आइतवार मात्र सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here