प्रस, सेढवा, २५ मङ्सिर/
वैवाहिक कार्यक्रममा आधुनिकता भित्रिंदै गएपछि अहिले परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको छ। वैवाहिक कार्यक्रममा परम्परागतरूपमा बजाइने बाजाहरूको साटो अहिले डिजे, सात सहेलियाँ र ब्यान्ड बाजा प्रयोग भइरहेको छ।
यसैगरी गीतहरूमा पनि अश्लीलता प्रदर्शन हुने गीतले प्रश्रय पाएको छ। अहिले गाउँतिर हुने वैवाहिक कार्यक्रममा तेस्रो लिङ्गीहरूको माग बढ्दो छ। सात सहेलियाँको रूपमा तेस्रो लिङ्गीहरू सहभागी जन्तीहरूमा धूमधामका साथ अश्लीलता प्रदर्शन गरिने र सोही अनुरूप क्रियाकलाप हुने गरेको छ। उनीहरू सहभागी जन्तीमा भीड लाग्ने गरेको छ। जन्तीको साथै अन्यले पनि सात सहेलियाँको नृत्य गीतमा रुचि देखाउँदै आएका छन्। यही कारण हो अहिले जन्तीहरूमा महिला सहभागिता पातलिंदै गएको छ।
यसै पनि मधेसको विवाहमा महिला सहभागिता न्यून हुने गरेको थियो तर अहिले अश्लीलता बढेसँगै झनै कम सहभागिता हुने गरेको छ। वीरगंज महानगरपालिकामा हुने वैवाहिक कार्यक्रममा महिला सहभागिता बढी हुने गरेको छ। यसको कारण सात सहेलियाँको सहभागिता नहुनु हो, तर ग्रामीण क्षेत्रमा भने तेस्रो लिङ्गी सहभागी वैवाहिक कार्यक्रमले गति पाइरहेको कारण महिलाहरूको सहभागिता पातलिएको छ। पटेर्वासुगौली गाउँपालिका–३ देकुली निवासी भागवतप्रसाद चौधरीले वैवाहिक कार्यक्रममा परम्परागत संस्कृति झल्कन छाडेको र आधुनिकताले प्रश्रय पाइरहेको बताए। उनले विकृतिपूर्ण संस्कृति हावी भइरहेकोमा चिन्ता जाहेर गरे।
जन्तीहरूमा सात सहेलियाँ नाच्ने र ध्वनि प्रदूषण पनि चर्को हुने गरेको छ। जसले गर्दा ज्येष्ठ नागरिकलगायतलाई समस्या हुने गरेको चौधरीले बताए। उनले विकृति फैलिने यस प्रकारका गतिविधि पालिकाले नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। वैवाहिक कार्यक्रममा प्रयोग हुने परम्परागत बाजा हेला, खुदु्रक, ढाक, तासा तथा सिग्ही बाजाको प्रयोग अहिले पूरै घटेको छ।
परम्परागत अनुसार पहिले वैवाहिक कार्यक्रममा शहनाई बजाउने, हेला खुद्रुक बाजा तथा हिन्दू धर्म अनुसार सिग्ही बाजा बजाउने चलन रहेपनि अहिले ती वाद्ययन्त्र लोप हुँदै गएको र वादकहरू पनि अन्य पेशामा लागेको वीरगंज महानगर–३१ भेडिहारी निवासी ६५ वर्षीय दुःखीराम चमार बताउँछन्। उनी हेला, खुद्रुक बाजा समूहमा नगरा बजाउँछन् तर आधुनिक बाजाको प्रचलन बढेसँगै हेला खुद्रुक बजाउनेको सङ्ख्या घटेको उनले बताए। हेला खुदु्रक बाजा चार/पाँच हजारमा जोहो गर्न सकिन्छ तर २० हजार पर्ने साउन्ड बक्स डिजे, ब्यान्ड बाजा र सात सहेलियाँमा मानिसहरूको आकर्षण बढेको उनको भनाइ छ।