प्रस, वीरगंज, २४ मङ्सिर/
वीरगंज महानगर–५ मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते गरी नामसारी भएको प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत सुमन झालाई प्रहरीले पक्राउ गरेको छ।
बुधवार बिहान उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो। यसअघि, उनीसँग प्रहरीले बयान लिएको थियो। मङ्गलवार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बयानको लागि बोलाइएको र बयान हुन नसकेपछि आज प्रहरीले जिप्रकामा राखेको प्रमुख मालपोत अधिकृत झाले बताए।
यसै घटनामा प्रहरीले मालपोत कार्यालयका थप चारजनाको नाम सङ्कलन गरेको छ। किर्ते जालसाज मुद्दामा प्रहरीले यसअघि मालपोत कार्यालयका नासु श्रीनारायण साहलाई पक्राउ गरिसकेको छ। किर्ते जालसाज मुद्दामा प्रहरीले नामसारी गर्ने काममा संलग्न सम्बन्धित फाँटका ६ जनाको सूची बनाएको र त्यसमध्ये प्रमुख मालपोत अधिकृत झा र नासु साहलाई पक्राउ गरिसकेको छ।
यसैगरी, यो घटनामा प्रहरीले अहिलेसम्म सातजनालाई पक्राउ गरेको बताएको छ।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो। स्व. गोपाल र स्व. कमला राजभण्डारीका तीनजना नक्कली छोरा बनाएर मुकेश भन्ने केवलप्रताप राणाले केही व्यक्तिको संलग्नतामा किर्ते जालसाज गरेको घटनामा स्व. राजभण्डारी दम्पतीका छोरा राजीव राजभण्डारीले प्रहरी अनुसन्धान ब्युरो काठमाडौंमा उजूरी दिएपछि मुकेश राजभण्डारी बन्ने केवलप्रताप राणालाई पक्राउ गरेको थियो। उनको गिरफ्तारीपछि दुईजना लेखनदास प्रमेश साह र अमर साह, व्यवसायी गिरधारीलाल अग्रवाल, जग्गा कारोबारी कालिकामाई गाउँपालिका–५ निवासी विश्वास तिवारीलाई पक्राउ गरेको छ।