प्रस, सेढवा, २४ मङ्सिर/
पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा केही विद्यालयहरू सञ्चालनमा छन् भने अझै केही पालिकाका विद्यालयहरू भने सञ्चालनमा आउन सकेका छैनन्।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर पालिकालाई विद्यालय सञ्चालनको स्वीकृति प्रदान गर्न अनुमति दिएपछि जिल्लाको एकमात्र महानगरमा कक्षा ५ देखि १० सम्मको अध्ययन शुरू भएको छ भने तीनवटा नगरपालिका र गाउँपालिकाहरूमा कक्षा १ देखि १२ सम्म अध्ययन शुरू भएको छ।
ठोरी गापा अन्तर्गतका विद्यालयहरू मङ्सिर ३ गतेदेखि सञ्चालनमा छन्। यहाँ कक्षा १ देखि १२ सम्म पढाइ सुचारु छ। २१ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालयमा अध्ययन नियमित रहेको नेपाल शिक्षक महासङ्घ ठोरी गापाका अध्यक्ष अमृत श्रेष्ठले बताए। यो गापाको विद्यालयहरूमा अहिले विद्यार्थी भर्ना पनि शुरू छ। जीराभवानी गापामा भने सामुदायिक विद्यालयहरू खुल्न सकेका छैनन् तर संस्थागत विद्यालयहरू सञ्चालनमा छन्।
यसैगरी, पटेर्वासुगौली गापा–२ मा रहेको रामावि रङ्गपुरमा विद्यालय व्यवस्थापन समितिले अभिभावक भेला गराएर विद्यालय शुरू गराएको छ। त्यसैगरी, सखुवाप्रसौनी गापाका सामुदायिक विद्यालयहरूमा कक्षा ८ देखि १२ सम्म अध्ययन शुरू छ भने आउने एक सातापछि कक्षा ६ र ७ को अध्ययन शुरू हुने गापाले जनाएको छ। छिपहरमाई गापामा भने मङ्सिर २१ गतेदेखि कक्षा ६ देखि १२ सम्मको अध्ययन शुरू भएको छ।
कालिकामाई गापामा कात्तिक २६ गतेदेखि नै विद्यालय सञ्चालनमा छन् भने पोखरिया नपामा भने एउटा संस्थागत विद्यालय सोमवारदेखि सञ्चालनमा आएको छ। अन्य सबै विद्यालय बन्द छन्।
पर्सागढी र बहुदरमाई नपामा संस्थागत तथा सामुदायिक विद्यालयहरू मङ्सिर १६ गतेदेखि नै सञ्चालनमा छन्। नपाका सबै विद्यालयमा सानो कक्षादेखि ठूला कक्षाहरूमा अध्ययन भइरहेको बताइएको छ।
धोबिनी गापामा मङ्सिर ७ गतेदेखि अध्ययन शुरू छ। यसैगरी, पकाहामैनपुर र विन्ध्यवासिनी गापामा पनि विद्यालयहरू सञ्चालनमा आउन सकेका छैनन्।