प्रस, रौतहट, २४ मङ्सिर/
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढीमाई नगरपालिका–८ बिनगरामा गजेन्द्र पोखरी सौन्दर्यीकरण कार्यको शिलान्यास भएको छ।
मुख्यमन्त्री लालबाबू राउत गद्दी र जसपाका नेता अनिलकुमार झाले संयुक्तरूपमा शिलान्यास गरेका थिए। सो अवसरमा मुख्यमन्त्री गद्दीले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरूले विकासको नमूना प्रस्तुत गरेको दाबी गरे। उनले प्रदेशको पर्यटकीय विकासमा मुख्यमन्त्री स्वच्छता अभियान कोसेढुङ्गा साबित हुने बताए। उनले जनकपुरस्थित जानकी मन्दिरबाट शुरू गरिएको योजना प्रदेशभरिका सबै धर्म–समुदायका धार्मिक, सांस्कृतिक धरोहरहरूको सौन्दर्यीकरण गर्दै प्रदेशलाई धार्मिक, सांस्कृतिक पर्यटनको हब बनाउने योजना रहेको बताए।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले विकास निर्माणमा सबै दललाई एकजुट हुन आह्वान गरे। उनले बिनगरा पोखरी सौन्दर्यीकरणमा प्रदेश सरकारले रु ६ करोड विनियोजन गरेको र पोखरीमा घाट, मन्दिर, शौचालय निर्माण गरिने बताए।
इन्जिनीयर भगवान झाको अध्यक्ष्Fतामा भएको शिलान्यास कार्यक्रममा जसपाका नेता बृजकिशोर यादव, माधवनारायण नगरपालिकाका प्रमुख वीरेन्द्र यादव, रेवन्त झालगायतले शुभकामना व्यक्त गरेका थिए।