प्रस, परवानीपुर, २१ मङ्सिर/
ब्रिटानिया नेपाल प्रालि, लिपनीबिर्ता, वीरगंजमा मजदूर निष्कासनविरुद्ध भइरहेको आन्दोलनमा सांसद प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन्।
आइतवार मजदूर आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सांसद यादवले मजदूरको जायज माग पूरा गर्नुपर्ने बताए। उनले हकअधिकारको लागि मजदूरले गरेको आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए। उनले कारखाना सञ्चालकलाई मजदूरहरूको माग सम्बोधन गर्न र निष्कासित १२ जना मजदूरलाई काममा फिर्ता बोलाउन आग्रह गरे। ब्रिटानिया नेपालमा कार्यरत १२ जना मजदूरलाई निकालिएपछि त्यहाँका मजदूरहरू मुख्य गेटअगाडि धर्ना दिंदै आएका छन्। सांसद यादवले मजदूरहरूको माग सम्बोधनमा श्रम मन्त्रालयको ध्यानाकर्षण गराउने आश्वासन दिए। उनले मजदूरहरूको माग पूरा नहुन्जेल आफ्नो साथ र समर्थन हुने प्रतिबद्धता जाहेर गरे।
२८ दिनअघि व्यवस्थपन पक्षले उद्योग सञ्चालन तथा श्रम ऐन २०७४ मा उल्लिखित आचरणविपरीत काम गरेको भन्दै १२ जना स्थायी मजदूरलाई निष्कासित गरेपछि करीब १२२ जना मजदूर आन्दोलनमा उत्रेका छन्।
पछिल्लो चार सातादेखिको मजदूर आन्दोलनले कुनै टुङ्गो नलगाएपछि उनले प्रत्यक्षरूपमा व्यवस्थापन पक्षलाई गलाउनको लागि र निकालिएका १२ जना मजदूरको पुनर्बहालीको लागि दबाबस्वरूप मजदूरहरूको धर्नामा सहभागी भएका पनि भए। “अब मजदूरहरूलाई पिटियो भने सांसद पनि पिटिन्छ, मजदूर थुनामा गयो भने सांसद थुनामा बस्न तयार छ,” उनले भने, “जबसम्म निष्कासित १२ जना मजदूरलाई कम्पनीले पुनर्बहाली गर्दैन, तबसम्म मजदूरहरूको आन्दोलनमा मेरो पूर्ण साथ र समर्थन रहन्छ।”
सांसद यादव मजदूरहरूसँग धर्नामा बसेर खाना खान वीरगंज गएपछि करीब साढे १० बजे बिहान पर्सा प्रहरीले बल प्रयोग गरी प्रशासनिक कर्मचारी तथा ठेकेदारद्वारा ज्यालादारीमा काम गर्ने करीब ४० जना कामदारलाई उद्योग हाताभित्र प्रवेश गराएको नेपाल काराखाना श्रमिक सङ्घ एकाइ अध्यक्ष राजेश्वर महतो कोइरीले बताए। उनले सांसद यादवको आन्दोलनप्रतिको ऐक्यबद्धतापछि प्रहरीले क्रुरता अपनाए तापनि मजदूरहरूलाई मूलगेटबाट केही समयको लागि छेउमा ब्लक गरी अरूलाई भित्र प्रवेश गराएको बताएका थिए। उद्योग सञ्चालन भएको डेढ वर्ष बितिसक्दा पनि पोशाक भत्ता, बोनसलगायत अन्य सेवासुविधा नदिएपछि मजदूरहरूको हकअधिकारको पक्षमा आवाज उठाउने मजदूर नेताहरूलाई व्यवस्थापन पक्षले कारबाई गर्दै निकालेको थियो। व्यवस्थापन पक्ष स्रोतका अनुसार निकालिएका १२ जना मजदूरलाई कुनै पनि हालतमा पुनर्बहाली गर्न नमिल्ने बताइएको छ। “१२ जना मजदूरलाई अदालत जाने बाटो खुल्ला छ, कुनै पनि हालतमा राख्दैनौं,” एकजना अधिकृतले भने, “कि त कम्पनी बन्द हुन्छ वा चल्छ, तर ती १२ जनालाई फिर्ता बोलाउन सकिन्न।
वाडिया समूहको १ अर्ब १४ करोडको लागतमा वीरगंजमा स्थापना भएको यो उद्योगले ब्रिटानियाको म्यारी गोल्ड, डाइजेस्टिभ, टाइगर क्रन्च, गुडडेलगायत पाँच प्रकारका बिस्कुट उत्पादन गर्दै आएको छ। अहिले मजदूर आन्दोलनले उद्योगको उत्पादन प्रभावित भएको छ।