ओमप्रकाश चौधरी, सेढवा, १८ मङ्सिर/
पर्सा जिल्लाको उत्तरी भेगका जङ्गलसँग टाँसिएको गाउँपालिकाका किसानहरू अहिले सुर्तीखेतीमा व्यस्त छन्। प्रत्येक वर्ष दुई सिजनमा सुर्तीखेती हुने गरेको छ।
पहिलो सिजनमा कात्तिकदेखि मङ्सिरसम्म सुर्ती रोपिन्छ। अहिले पर्साको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापा र पर्सागढी नगरपालिकाका ३५ सय किसान सुर्तीखेती लगाउन व्यस्त छन्। नेपालभरि हुने सुर्तीखेतीमध्ये पर्सा जिल्लामा मात्र ८० प्रतिशत उत्पादन हुँदै आएको छ। पर्सा, बारा, रौतहट, धनुषा, सिराहा, नवलपरासीमा सुर्तीखेती हुन्छ। कोभिड–१९ को कारण धनुषा, सिराहा, नवलपरासीमा सुर्तीखेती बन्द गरिएको छ।
यो क्षेत्रमा हुने सुर्ती सूर्य नेपाल प्रालिले खरीद गर्दै आएको छ। सूर्य नेपाल प्रालिका लिफ मैनेजर माधव खनालले कोरोनाको कारण तीन जिल्लामा सुर्तीखेती रोकिएको बताए। अहिले पर्सा, बारा, रौतहटमा मात्र सुर्तीखेती भइरहेको छ। पर्सा जिल्लामा गत वर्ष एचबी जातको ४ सय हेक्टर क्षेत्रफलमा सुर्तीखेती भयो, जसबाट ९५० मेट्रिकटन सुर्ती उत्पादन भयो।
यसैगरी, बर्ली जातको ४१५ हेक्टर क्षेत्रफलमा सुर्तीखेती भएबाट ५७० मेट्रिकटन सुर्ती उत्पादन भयो। सूर्य नेपालले किसानहरूसँग बर्ली जातको सुर्ती प्रतिकिलो रु १६० र एचबी जातको रु १३० मा खरीद गर्ने गरेको छ। सुर्तीखेतीलाई प्रोत्साहित गर्न सूर्य नेपालले किसानहरूलाई बीउ, मल, त्रिपाल र गोठ निर्माणका लागि निब्र्याजी ऋण लगानी गर्दै आएको छ। किसानहरूले यसबापत रकम लिने र सुर्ती उत्पादन गरी भुक्तानीको क्रममा उनीहरूले लिएको ऋण चुक्ता गर्दै आएका छन्।
पर्सा जिल्लाको जङ्गलसँग जोडिएका गापा र नपाका किसानहरूले सुर्तीखेती गर्नुको अर्को कारण के छ भने जङ्गली जनावरहरूले सुर्तीखेतीलाई नोक्सान पु–याउँदैनन्। जङ्गल क्षेत्रमा हुने अन्य बाली जङ्गली जनावरको कारण प्रभावित हुँदै आएको छ। सूर्य नेपालका लिफ मैनेजर खनालले किसानहरूले यसअघि दुई सिजनमा सुर्तीखेती गर्दै आएकोमा अहिले तीस महीनालाई पुग्ने सुर्ती भण्डारण भएको कारण एक सिजनमा मात्र सुर्ती उत्पादन गर्न सुझाएको बताए। किसानहरूले ६ महीनामा सुर्ती उत्पादन गरी सूर्य नेपाललाई बिक्री गर्छन्। प्रत्येक वर्ष वैशाखदेखि सूर्य नेपालले सुर्ती खरीद गर्ने गरेको खनालले बताए।
सूर्य नेपाललाई आवश्यक सुर्तीमध्ये भर्जिनिया सुर्ती भारतबाट आयात हुने गरेको छ। कुल खपत सुर्तीमध्ये ८० प्रतिशत भारतबाट आयात हुने गरेको खनालले बताए। नेपालबाट २० प्रतिशत मात्र सुर्ती आपूर्ति भइरहेको उनले जानकारी गराए। यो सिजनमा पर्सा जिल्लामा एचबी जातको ३ सय हेक्टर र बर्ली जातको ४ सय हेक्टर क्षेत्रफलमा सुर्तीखेती गरिएको खनालले बताए। पर्सा जिल्लामा गाँजाखेती नियन्त्रण गरिएपछि किसानहरू सुर्तीखेतीतर्फ आकर्षित भएका हुन्।
Home समाचार प्रमुख समाचार सुर्तीखेतीमा पर्सेली किसानको आकर्षण बढ्दो, सुर्तीखेतीमा ३५ सय किसान सहभागी