प्रस, वीरगंज, १९ मङ्सिर/
जिल्ला प्रशासन कार्यालय, पर्साले ११ हजार घूससहित नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका चारजना कर्मचारीलाई पक्राउ गरी अख्तियारको जिम्मा लगाएको छ।
बिहीवार पक्राउ परेका चारजनामध्ये दुईजनालाई कोरोना सङ्क्रमण भएपछि अख्तियारको निर्देशन अनुसार कार्यालय प्रमुखको जिम्मा लगाएको र रिपोर्ट नेगेटिभ आएपछि अख्तियारलाई बुझाउने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। पक्राउ परेका कर्मचारीमध्ये सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, सहयोगी पद्मबहादुर रोक्का, सत्यनारायण चौधरी र एकजना चालक रहेका छन्। पोजेटिभ देखिएका दुई कर्मचारीलाई होम आइशोलेशनमा राखिएको र अन्य दुई कर्मचारीलाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोगको जिम्मामा बुझाउने भएको छ।
बिहीवार परवानीपुरको एउटा कारखानामा चेकजाँचको बहानामा केही सामानहरू नियन्त्रणमा लिएका थिए। सोही सामान फिर्ता गर्न कर्मचारीले कारखानासँग ११ हजार घूस लिएका थिए। २/२ हजारको दरले तीनजना पियन र ५ हजार उपाध्यायले रकम लिएको प्रजिअ तामाङले प्रतीकलाई बताए।
हामीलाई प्राप्त जानकारी अनुसार रकम लेनदेन गर्दा भिडियो बनाएको र सो भिडियो अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालमा पठाएको र अख्तियारले दिएको सूचनाको आधारमा प्रजिअले उनीहरूलाई पक्राउ गरेका थिए।