प्रस, पोखरिया, १७ मङ्सिर/
पर्साको बजियानमा गहुँ किसानका लागि अहिले सिंचाइ र मलको समस्या भएको छ। गहुँ छर्ने क्रममा डिएपी मलको अभाव झेलेका गहुँ किसानहरू अहिले गहुँ छरेको तेस्रो सातामा आवश्यक सिंचाइ सुविधा र युरिया मलको अभाव झेलिरहेका छन्।
गहुँ छरेको २१ दिनदेखि २५ दिनमा सिंचाइ गर्नुपर्ने र त्योसँगै युरिया मल छर्नुपर्ने हुन्छ। अहिले साल्ट टे«डिङ कम्पनी तथा कृषि सामग्री कम्पनीले सहकारीमार्फत उपलब्ध गराएको युरिया मल पर्याप्त छैन। किसानलाई युरिया मल आवश्यक भएको बेला सहकारीहरूले जबरजस्ती डिएपी मल थमाउने गरेका छन्। युरिया मलसँगै डिएपी खरीद गर्ने किसानलाई मात्र सहकारीहरूले मल उपलब्ध गराउने गरेका छन्। एकजना किसानले युरिया मल आवश्यक भएको बेला सहकारीले डिएपी पनि जबरजस्ती दिने गरेको बताए। युरियाका लागि डिएपी मल खरीद गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।
सहकारीबाट उपलब्ध मल अहिले यहाँका किसानहरूलाई पर्याप्त छैन। करीब २० प्रतिशत किसानले मात्र सहकारीबाट प्राप्त मल उपभोग गरिरहेका छन्। बाँकी किसान सीमा सिल भएपनि भारतीय बजारमा गएर मल खरीद गरी ल्याउने गरेको पाइएको छ। मलसँगै अहिले सिंचाइको पनि समस्या झेलिरहेका छन्। गण्डक नहरमा पानी छैन। किसानहरू बोरिङबाट गहुँमा पानी पटाइरहेका छन्। बोरिङ सुविधा पनि सबैलाई पर्याप्त छैन। प्रतिघण्टा रु २५० भाडा तिरेर बोरिङ गर्दा बाली महँगो हुने एकजना किसानले बताए। बजियानमा गहुँ खेतीसँगै तेलहन र दलहन खेती गरिएको छ। यी किसानलाई भने अहिले मल र सिंचाइको आवश्यकता परेको छैन।