प्रस, महोत्तरी, १७ मङ्सिर/
बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाब शाह खातुनको हत्या र हत्याराविरुद्ध कारबाईको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट सञ्जय न्यौपानेको ज्यान गएको घटना सम्बन्धमा छानबीन गर्न सङ्घीय गृह मन्त्रालयले गठन गरेको छानबीन समिति बुधवार बर्दिबास आइपुगेको छ।
मङ्गलवार प्रदेश राजधानी जनकपुर आइपुगेको टोली बुधवार बिहान मात्रै बर्दिबास पुगेको हो। छानबीन टोलीका सदस्यहरूले मङ्गलवार जनकपुरमा प्रदेशका उच्च सुरक्षा अधिकारी र घटनाबारे अध्ययन–अनुसन्धान गरिरहेका सङ्घ/संस्था एवं व्यक्तिहरूसँग कुराकानी गरेका थिए।
मङ्सिर ११ गते गृह मन्त्रालयले मन्त्रालयका उपसचिवको संयोजकत्वमा घटनाको सत्यतथ्य छानबीन गर्न समिति बनाएको थियो। टोलीका सदस्यहरूले महोत्तरीको घटनास्थलमा पुगेर छानबीन, अध्ययन–अनुसन्धान शुरू गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।
छानबीन टोलीले मृतक बालिकाको परिवारजनलाई सरकारको तर्फबाट दिन सकिने राहत साथै प्रहरीको गोली लागी ज्यान गुमाएका न्यौपानेको परिवारलाई सरकारले उपलब्ध गराउन सकिने सहयोग, गोली चल्नुको कारण, तत्कालीन अवस्था र सो स्थानमा नागरिक प्रहरीबीच द्वन्द्व न्यूनीकरण गरी अगाडि बढनका लागि अपनाउनुपर्ने कुराहरूबारे सूक्ष्म अनुसन्धान गर्ने समाचार स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here