प्रस, परवानीपुर, १५ मङ्सिर/
कोरोना महामारी तथा सरकारी स्वास्थ्य मापदण्डसम्बन्धी नीतिको कारण एलपी ग्यासको खपत १५ प्रतिशतले घटेको ग्यास व्यवसायीहरू बताउँछन्।
एलपी ग्यास उत्पादक सङ्घका उपाध्यक्ष मनोज दासका अनुसार कोरोनाभन्दा पहिले मासिक ४५ हजार मेट्रिकटन एलपी ग्यास उत्पादन भई खपत भइरहेकोमा अहिले जम्मा मासिक ३८ हजार मेट्रिकटन ग्यास खपत भइरहेको छ। कोरोनाको कारण सरकारले नेपाल–भारत सीमानाका सिल गर्दा पर्याप्त मात्रामा पर्यटकको आवागमन नभई होटल, रेस्टुरेन्ट, सभा, सेमिनार, पार्टी, वैवाहिक कार्यक्रममा कमी आएको छ।
कोरोनाको महामारी फैलिएपछि एलपी ग्यासको खपतमा १५ प्रतिशतले कमी आएको उपाध्यक्ष दासले बताए। “सरकार अन्तर्राष्ट्रिय उडान शुरू गर्ने तरखरमा छ, भारतसँगको सीमा बन्द नै राखेको छ। जसको कारण पर्यटक नआउँदा नेपाली होटल व्यवसाय धरापमा परेको, सामूहिकरूपमा खाना पकाउने गतिविधि पनि कम भएको, होटलभित्र हुने ठूला कार्यक्रम पनि बन्द भएकोले ग्यासको खपत कम भएको हो,” उपाध्यक्ष दासले भने।
व्यवसायीले भारतीय सीमा खोल्न र पर्यटकीय आवागमन बढाउन अपील गरेका छन्। नेपालमा ५८ वटा एलपी ग्यास रिफिलिङ प्लान्ट उद्योग सञ्चालनमा रहेकामा सबैको बिक्रीमा कमी आएको एलपी ग्यास उत्पादक सङ्घले जनाएको छ। वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा ६ वटा ग्यास उद्योग सञ्चालनमा रहेकामा अहिले मनोज, बारा, अम्बर, सुपर, एनएल गरी पाँचवटा ग्यास उद्योग सञ्चालनमा छन् भने सिमराको नेपाल ग्यास महोत्तरीको बर्दीबासमा स्थानान्तरण भएको छ।
पूर्वी नेपालमा करीब १० वटा, धादिङमा मात्रै १५ वटा, पश्चिम नेपालमा आधा दर्जन र बाँकी ग्यास उद्योग काठमाडौं उपत्याकामा छन्। ग्यास उद्योगले नेपाल आयल निगममार्फत भारतीय आयल निगमसँग ग्यास बुलेट खरीद गरी सिलिन्डरमा रिफिलिङ गरी बिक्री वितरण गर्ने गरेको छ। नेपालमा भारतको बरौनी, मथुरा, हल्दिया, पारादीपलगायत ठाउँबाट भारतीय एलपी ग्यासको बुलेट आयात हुन्छ।
एउटा बुलेटमा १ हजार २ दुई ६७ वटा १४ दशमलव २ किलोको सिलिन्डर भर्न सक्ने ग्यास हुन्छ। एउटा सिलिन्डरको अहिले नेपालमा १३५५ रुपैयाँ पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here