झट्ट हेर्दा नेपाल र नेपाली समाज सभ्यताको खुडकिलो चढ्दै गरेको देखिन्छ, चढिरहेको पनि छ। तर यो चढाइ व्यवस्थित नभएर, पिकनिक खेल्न गएका केटाकेटीले कुनै टाकुरामा भएको मन्दिरसम्म पुग्न खेलाँची गर्दै, दुगुर्दै, तल ओर्लंदै उकालो लागेजस्तो छ। त्यसैले जब राज्य, समाज तिनका निकायहरू सबै विकृत मान्यता र परम्पराहरू पन्छाउन जुटेका छन्, त्यही विकृतिलाई मान्य गर्दै मानिसले आफ्नै सन्तानको समेत हत्या गरिरहेका छन्। रौतहट जिल्लाको माधवनारायण नगरपालिका अन्तर्गत लौकाहा गाउँको घटनाले देख्ने–सुन्ने सबैलाई स्तब्ध तुल्याएको छ। आज समाज शिक्ष्Fित बन्दैछ, जातिपाति भेदभाव अमान्य बनाइँदैछ, विवाहलाई अभिभावक होइन, केटाकेटीबीचको सम्बन्धको रूपमा परिभाषित गरिंदै छ, तर पनि अभिभावक नै अर्घेलो बनेर आफूखुशी बिहे गरिदिने, सन्तानको इच्छा फलीभूत हुन नदिनेजस्ता कार्य गरिरहेको छ। अर्कोतिर त्यही अभिभावक छोरीको बिहेमा हुने अनावश्यक तिलक, दाइजोका कारण दिक्क हुन्छ। कति अवस्थामा त पर्याप्त तिलक–दाइजो नपाएर महिलाहरूको चरण शोषण र हत्यासमेत हुन्छ।
मानिस त्यो प्राणी हो, जसको लागि नियम भनेको उसको इच्छा अनुसार हुनुपर्छ। उसलाई पुराना परम्परा रूढिवादी लागेको छ भने त्यो टुट्नुपर्छ। नयाँ परम्परा राम्रो लागेको छ भने बहाल हुनुपर्छ। तर पुराना परम्परामा लहसिन ऊ छाड्दैन, नयाँसँग भिज्न चाहँदैन, सिवाय ती उसलाई मन परेको वा नपरेको हुनुपर्छ। पुरानै परम्परा निर्वाह गर्ने हो भने सासू–ससुराले आफ्नी छोरीलाई दिएको पीडा, दाइजो–तिलक सहज स्वीकार हुनुपर्ने हो। त्यसमा आपत्ति छ भने छोरीलाई आफूखुशी बिहे गर्न दिनुपर्ने हो। मानिस कुप्रथालाई गाली गर्छ तर त्यसको विकल्पमा असल प्रथा अँगाल्न हच्किन्छ। प्रेमविवाह भनेको त्यै असल प्रथा हो, जसलाई स्विकार्न हाम्रो समाज पटक्कै तयार छैन। समाजले प्रेम विवाह नमान्नुमा एउटा ठूलो कारण हो, केटाकेटीहरूको असामयिक विवाह। समय वा उमेर नपुगी भएको विवाहलाई कानूनले पनि मान्यता दिंदैन। तर जसरी प्रेमविवाहमा उमेर नपुगेको कुरामा राज्य प्रेमीरूपी किचकलाई मार्न भीमसरी उत्ताउलो बन्छ, त्यही उमेरमा घर परिवारले विवाह गरिदिंदा भने ऊ सेलाउँछ। यहाँ जनता र राज्य दुवैको सोच निन्दनीय छ। कानूनको पालना गर्ने राज्यले हो, राज्यले एक पक्ष्Fमा कडा रवैया अख्तियार गर्छ अर्को पक्ष्Fमा अतिशय उदारता। अनि कसरी हट्छ रूढिवाद ?
यसो हुनुमा बन्द समाज पनि मुख्य कारक हो। हाम्रो सन्दर्भमा बन्द समाज भनेको एकै थलोमा एकैथरी वा बढी थरीका मानिस लामो समयसम्म बस्दै आएको हुन्छ। यस्तो समाजले कुनै पनि परिवर्तनलाई सहज स्वीकार गर्नै सक्दैन। बसाइँसराइ गरेको परिवारको खासै समाज हुँदैन। ऊ सङ्घर्षशील हुन्छ, उसले नयाँ मानिससँग परिचय बनाउन र आफूलाई व्यवस्थित गर्न उदारचेत अँगालेको हुन्छ। छोरा वा छोरीले आफूखुशी बिहे गर्दा उसलाई दौंतरी, टोलछिमेकको आलोचना वा अवहेलनाको कुनै भय हुँदैन। समाजमा हजारौं वर्षदेखि स्थापित विकृति उन्मूलनका लागि नयाँ परम्परा नअँगाली त धरै छैन। पुरानो परम्परालाई नराम्रो पनि भन्नु नयाँ अँगाल्न पनि नसक्नु दूषित मानसिकता हो, र दूषित मानसिकताले कतिसम्म अधम काम गर्दछ, औराहाकी अमृताका आमाबुबा र परिवारले देखाइदिएको छ।