राधेश्याम पटेल, परवानीपुर, १२ मङ्सिर/
वीरगंज भन्सार नाकाबाट अत्यधिक निर्यात हुने वस्तुको सूचीमा प्रशोधित भटमास तेल परेको छ। गत वर्ष एक नम्बर निर्यात वस्तुको सूचीमा पाम आयल थियो। गत वैशाखमा भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाम आयलमा प्रतिबन्ध लगाएपछि अहिले वीरगंज–पथलैयाका तेल उद्योगहरू भटमास तेल प्रशोधन गरी भारत निकासी गर्न शुरू गरेका छन्।
वीरगंज नाकाबाट चालू आवको साउनदेखि कात्तिकसम्म गत वर्षको तुलनामा पाँच गुनाले भटमास तेलको निकासी बढेको वीरगंज भन्सार कार्यालयले जनाएको छ। भन्सारका सूचना अधिकारी विमलकुमार साहले चालू आवको प्रथम चौमासिकमा रु ६ अर्ब ८३ करोडबराबरको ४८ हजार २८१ मेट्रिक टन भटमास तेल भारत निकासी भएको बताए। गत आव २०७६/७७ को यो अवधिमा जम्मा रु १ अर्ब ३३ करोडको १० हजार ५१९ मेट्रिक टन प्रशोधित भटमास तेल भारत निर्यात भएको थियो।
भटमास तेलको निकासी उच्च बिन्दुमा वृद्धि भई प्रशोधित तेल निकासी गर्ने नाकाको रूपमा पनि वीरगंज पहिलो स्थानमा पुगेको छ। गत आवमा नेपालबाट रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएकोमा वीरगंजबाट मात्रै रु ११ अर्ब ७२ करोडको १ लाख ७ हजार मेट्रिक टन निर्यात भएको सूचना अधिकारी साहले बताए।
नेपालमा कच्चा तेल विदेशबाट मगाएर प्रशोधन गरी भारत निकासी गर्ने करीब दुई दर्जन उद्योगमध्ये १४ वटा तेल उद्योग वीरगंज करिडोरमा छन्। पाम आयलको निर्यात बन्द भएपछि वीरगंजको निम्बस, ओसिबी, अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप प्रालि, नारायणी आयल रिफाइनरी, शिवशक्ति, गणपति, मुक्ति आयललगायतका उद्योगहरूले भटमासको तेल प्रशोधन र निकासीलाई प्रFथमिकता दिएका छन्।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले पाम आयलको कारोबार बन्द भएपछि भटमास तेल निकासीले केही हदसम्म वीरगंजको तेल उद्योगीलाई राहत दिएको बताए। उनले चाँडै पाम आयलको पनि निर्यात फुकुवा गराउनेतर्फ सरकारले भारतसँग संवाद गर्नुपर्नेमा पनि जोड दिए।
वीरगंजका उद्योगीहरूले विदेशबाट आयात गरेको अर्धप्रशोधित कच्चा तेल (क्रुड आयल) प्रशोधन गरी करीब ३० प्रतिशत मूल्य वृद्धि गरेर शून्य भन्सार महसूलमा भारतको बिहार, उत्तर प्रदेशलगायत विभिन्न राज्यमा तेल निर्यात गर्ने गरेका छन्।
भारतले सार्क मुलुकबाहेक विदेशबाट आयात हुने अर्धप्रशोधित भटमास तेलमा साढे ३७ प्रतिशत र प्रशोधित तेलमा ४५ प्रतिशत भन्सार महसूल लगाएकोले विदेशबाट कच्चा तेल मगाएर यहाँका उद्योगीहरूले प्रशोधित भटमास तेलको निकासी बढाएका हुन् । भारतले आफ्नो तेल उद्योग र किसानलाई संरक्षण गर्ने उद्देश्य अनुसार साफ्टा सम्झौता अनुसार नेपालबाट आयात गरिरहेको छ भने विदेशबाट आयातमा उच्च शुल्क राखेको छ।
नेपालका उद्योगीले भटमासको कच्चा तेल आयात गर्दा १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ। उद्योगीहरूले अर्जेन्टिना, ब्रजील, युक्रेन, इन्डोनेसियालगायतका देशबाट भटमासको अर्धप्रशोधित तेल मगाउने गरेका छन्। भारतमा भटमास तेलको निर्यात बढेसँगै आयातमा पनि भारी वृद्धि हुँदै गएको छ। पछिल्लो ४ महीनामा विदेशबाट भटमासको कच्चा तेल करीब रु ७ अर्ब ४४ करोडको आयात भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here