प्रस, जीतपुर, ११ मङ्सिर/
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि अवस्थामा नेकपालाई आफूले फुट्न नदिने बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठान बाराले सिमरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेकपा फुट्दैन, कसैले फुटाउन सक्दैन र म पनि फुट्न दिन्नँ भने। उनले पार्टीभित्र अन्तरद्वन्द्व देखिएको र पार्टी फुट्ने भनी हल्ला चले पनि कुनै पनि हालतमा पार्टी फुटाउन नदिने बताए। नेता नेपालले दम्भ देखाएको कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै आफूलाई कसैको दम्भ स्वीकार्य नभएको चेतावनी दिए। पार्टीमा विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको र यो क्रममा कसैले दिने धम्की, देखाउने दम्भबाट आफू नडराउने पनि बताए।
पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ भन्ने मान्यता राख्दै सोहीअनुरूप अगाडि बढाउन आफ्नो प्रयास निरन्तर रहने उनले प्रस्ट्याए। पार्टीभित्रका विवाद विधिगतरूपमा छलफलको माध्यमबाट समाधान गर्नुपर्ने उनको सुझाव छ। उनले कसैले पार्टी फुटाउने धम्की दिन्छ भने त्यो स्वीकार्य नहुने बताए। पार्टीभित्र सबैको अधिकार समान हुनुपर्ने बहसमा आफू रहेको र सोहीअनुरूपको कार्य गर्दै जाने उनले बताए।
पार्टीभित्र अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले वर्तमान समस्या सिर्जना भएको भन्दै उनले अस्तित्व स्वीकार गरेको खण्डमा वर्तमान विवाद पनि आफैं छेउ लाग्ने बताए। नेता नेपालले पर्सा, बारा, रौतहटमा पार्टी निर्माण गर्ने क्रममा स्व पुष्पलालको योगदान अविस्मरणीय रहने बताए। उनले स्व पुष्पलाललाई यस क्ष्Fेत्रका जनताले कहिल्यै नबिर्सिने दाबी गरे।
बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य दिनेश राई, बाराका सचिव सुन्दर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश २ का सचिव कमलेश झालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण मनोज पौडेलले गरेका थिए। यसैबीच, पलट चौधरीको संयोजकत्वमा ४१ सदस्यीय पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखा घोषणा गरिएको छ।